राजनीति


बिनाविभागीय मन्त्री आलेमगरले भौतिक मन्त्रालय दाबी गर्ने

बिनाविभागीय मन्त्री आलेमगरले भौतिक मन्त्रालय दाबी गर्ने

सुनिता विष्ट
चैत २०, २०८० मंगलबार १०:३६, हेटौँडा

बागमती प्रदेशमा आज (मंगलबार) बिहान बिनाविभागीय मन्त्रीको सपथ लिएकी रमा आलेमगरले आफ्नो दाबी भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेको बताएकी छिन्। 

बिनाविभागीय मन्त्रीको सपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रदेशको विकासका लागि आफूले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गरेको बताएकी हुन्। 

‘अन्य दलहरुसँग छलफल गर्न बाँकी नै छ,’ उनले भनिन्, ‘सोही कारणले आज बिनाविभागीय मन्त्रीको सपथ लिएँ। अबको एक हप्ताभित्रै टुंग्याउने भन्ने कुरा छ। मेरो निर्वाचन क्षेत्रको मतदाताको चाहना र मेरो जिम्मेवारी पूरा गर्नका लागि भए पनि मेरो दाबी भौतिक पूर्वाधार विकास मन्त्रालयमै हो।’

काठमाडौँ चन्द्रागिरी नगरपालिकाकी आलेमगर काठमाण्डौँ निर्वाचन क्षेत्र १०(२) बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्। प्रदेश सरकारको अघिल्लो कार्यकालमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएर प्रदेश सभा प्रवेश गरेकी उनले पहिलो कार्यकालमा पनि मन्त्री बन्नका लागि निकै कसरथ गरेकी थिइन्।

तर पार्टीको भागवण्डाले उनले अवसर पाउन सकिनन्। तर यसपटक भने बार्गेनिङ गरेरै भए पनि उनी मन्त्री बनेकी छन्।

सोमबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनी निर्धारित समयमा प्रदेश सभा भवन नआइपुगेपछि मन्त्रीको बार्गेनिङ गरेर बसेको भन्ने आरोप खेपेकी थिइन्।

यद्यपि माहोल पनि चर्चा अनुसार नै बन्न पुग्यो। सोमबार साँझ नै उनलाई मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रीमा नियुक्त गरेका थिए। विश्वासको मतको लागि संसदमा ५६ सांसदको संख्या जुटाउन नसके सरकार ढल्ने स्थिती बनेपछि आलेमगरलाई मन्त्री बनाउने सर्तमा मुख्यमन्त्री जम्मकट्टेलले सदनमा बोलाएको चर्चा अहिले ब्यापक छ।

हाल बागमतीको भौतिक पूर्वाधार विकास मन्त्रालयमा माओवादीका युवराज दुलाल मन्त्री छन्। सत्ता समीरण फेरिए पनि माओवादी सत्तामै रहेपछि माओवादीबाट मन्त्री बनेकाहरु यथास्थितिमै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .