ad ad

राजनीति


देशका ६ महानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट, काठमाडौँ दोस्रो

देशका ६ महानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट, काठमाडौँ दोस्रो

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार ९:८, चितवन

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट पालिका घोषित भएको छ। 

देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९÷८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगरले पहिलो स्थान प्राप्त गरेको छ।

आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए।

असार १० भित्र बजेट ल्याए/नल्याएको, असार ३०  भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए÷नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ। 

स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको अर्यालले बताए। 

काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन्।

जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ। भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क पाएका छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिकाभन्दा अगाडि रहेको बताइन्।

गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन्। महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङ्कनमा सधैँ उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ। 

देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्यौटलगायत विषयमा सधैँ उकृष्ट बन्दै आइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .