राजनीति


महरा थप अनुसन्धानका लागि तीन दिन हिरासतमै रहने

महरा थप अनुसन्धानका लागि तीन दिन हिरासतमै रहने

सागर न्यौपाने
असोज २८, २०७६ मंगलबार ७:५४,

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ३ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

न्यायाधीश दीपक कुमार दाहालको एकल इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएकाे हाे।

अदालत म्यादथप भएसँगै महरा शुक्रबारसम्म प्रहरी हिरासतमा रहनेछन्। त्यसपछि म्याद थप हुने/नहुनेबारे फेरि अदालतले निर्णय दिनेछ। बलात्कार प्रयास आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको थुनछेक बहसपछि म्यादथपका लागि आज महरालाई काठमाडौं जिल्ला अदालत पेस गरिएको हो। 

सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि म्याद थप गर्न माग गरेका थिए ।

उता महराको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने बन्दी प्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी थुनामा राखिएको भन्दै म्यादथप गर्न नहुने बहस गरेका थिए ।

तर प्रहरीले महरालाई २० दिन म्याद थप्न माग गरेको थियो ।

उनलाई यही असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो। अनुमति पाएसँगै प्रहरीले उनलाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो। पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहँदै आएका थिए।

तर स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत थिए। मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो।

अदालतले उनलाई तीन दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीलाई थप अनुसन्धानको बाटो खुल्ला भएको छ।

काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार महराको तर्फबाट उनका वकिलहरुले बलात्कार आरोपको पुष्टि नभएकोले म्याद थप गर्न नहुने जिकिर गरेका थिए। तर, न्यायाधीश दाहालको एकल इजलासले प्रहरीले संकलन गरेको प्रमाणका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले म्यादथप गरी अनुसन्धान गर्न अनुमति दिएको हो।

महरामाथि संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ। यही असोज १२ गते राति रोशनीकै कोठामा गएर बलात्कार प्रयास गरेको भन्दै शाहीले एक अनलाइनलाई भिडियो अन्तर्वार्ता दिएपछि घटना सार्वजनिक भएको थियो।

सोही राति शाहीले प्रहरीलाई समेत खबर गरेर घटनाबारे जानकारी गराएकी थिइन्। तत्कालै प्रहरी उनको कोठामा पुगेर वस्तुस्थिति नियालेर फर्किए पनि महरा पक्राउ परेका थिएनन्।

पछि शाहीले नै अर्को अनलाइनमा सपहिचान भिडियो अन्तर्वार्ता दिएकी थिइन्। उक्त अन्तर्वार्तामा उनले महरा आफ्नो बाबुसमान मान्छे भएकोले आफूलाई केही नगरेको दाबी गरेकी थिइन्। त्यसलगत्तै उनको पतिसँग ‘डिभोर्स’ भएको भनी उनका श्रीमान् चित्रजंग शाहीले दम्पतीको हस्ताक्षरसहितको विज्ञप्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

तर त्यसको केही दिनपछि पुनः शाही दम्पतीले महानगरीय प्रहरी प्रभाग बानेश्वरमा बलात्कार प्रयास गरेको भन्दै महराविरुद्ध उजुरी दिएको थियो। तर घटना भएको भोलिपल्ट भने शाहीले महराले आफूमाथि यौन दुराचार नै गरेको बताएकी थिइन्।

सोही उजुरीका आधारमा महरा प्रहरी हिरासत पुगेका हुन्। महरामाथि आरोप लागेपछि नेकपाका नेताहरुले उनलाई सभामुख पदबाट हट्न र अनुसन्धानमा सघाउन भनेका थिए। त्यसलगत्तै उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आफ्नो ‘शर्त’सहितको राजीनामा दिएका थिए।

तर उपसभामुखले उक्त राजीनामाको भाषा नमिलेको भन्दै अस्वीकार गरेपछि दोस्रोपटक भाषा मिलाएर महराले पदबाट राजीनमा दिएका थिए। प्रहरीले पक्राउ गरेपछि उनी सांसद पदबाट पनि निलम्बनमा परेका छन् ।

घटनाक्रमः 

१. सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

२. कुरा फेर्दै रोशनीले भनिन्: महरा सर त मेरो बाउ समान हो

३. सभामुखबाट महराको दोस्रो राजीनामा

४. महरा प्रकरणमा अर्को ट्विस्टः रोशनीका पति-पत्नीद्वारा अलग हुने निर्णय

५. बलात्कार आरोपी महरा पक्राउ गर्न अदालतको अनुमति

६. बलात्कारको आरोप लागेका महरा अन्ततः पक्राउ परे

७. महराको छातीमा समस्या, नर्भिक अस्पतालमा भर्ना

८. महरालाई अदालत लगियो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad