प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश चीन र भारतको उपनिवेशको बीचमा रहेको नेपालले त्यसबाट उम्किन लामो प्रयास गरेको बताएका छन्। राजधानीमा मंगलबारदेखि सुरु भएको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुर्खाले उपनिवेशबाट उम्किन आफ्नो जीवन नै समर्पित गरेको बताएका हुन्।
पछिल्लो पुस्तासम्म आइपुग्दा नेपाल नयाँ ढंगले अघि बढ्न खोजिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमण र त्यसपछिको नेपाल भ्रमणलाई इंगित गर्दै भने, ‘पुराना कुरा बिर्सिएर नयाँ मित्रता र सहकार्यमा छिमेकी देश चीन र भारत अघि बढेका छन् र हामी पनि उनीहरुसँग सँगै अघि बढ्दै छौँ।’
चीन र दक्षिण एसियाली देशहरुबीच साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य रहँदै आएको बताउँदै प्रधानमन्त्री ओलीले नृत्य, संगीत, वाद्यवादन, धुन, छन्द र साहित्यमा विम्बको प्रयोग एसियाको विशेषता रहेको उल्लेख गरे। नेपालमा आयोजित साहित्य सम्मेलन त्यसको प्रमाण रहेको उनले बताए।
प्रधानमन्त्री ओलीले नेपाली समाजमा शिष्टता र मर्यादाका पर्खालहरु भत्किदै गएकोप्रति दुःख व्यक्त गरे। जसको उदाहरणका लागि उनले मिडियामा प्रयोग हुने भाषालाई संकेत गरे। प्रधानमन्त्री ओलीले भने, ‘पत्रकारहरुले आफ्नै बाबुलाई पनि तपाईं भन्दैनन्। यो एउटा ट्रेन्ड हो। अमेरिकाको ‘यू’ शब्दको लोभले, डलरवालाले ‘यू’ले काम चलाउँछन् हामीले किन काम नचलाउने भन्ने भ्रम छ। सामाजिक भाषा, सभ्यता, मानसम्मानको प्रचलन हुन्छ र हामी त्यो बिर्सिन खोज्दै छौँ।’
प्रधानमन्त्री ओलीले हिजो भएको क्रान्ति शान्तिका लागि भएको भन्दै त्यसलाई उचित ठहर्याएका छन्। उनले भने, ‘विभिन्न समयमा क्रान्तिहरु हुनुपर्छ र त्यो आवश्यक पनि हुन्छ। क्रान्तिहरु हुन्छ र क्रान्ति सकिएपछि फेरि शान्ति हुन्छ।’
मंगलबारदेखि छ दिनसम्म चल्ने सम्मेलनमा चीनसहित दक्षिण एसियाका सात देशको सहभागिता रहनेछ।
‘हिमालय वारपार साहित्य तथा सांस्कृतिक सञ्जाल’ विषयक तीन दिने गोष्ठीमा नेपाल र चीनबाट चार–चार, भारत, पाकिस्तान र बंगलादेशबाट दुई–दुई, श्रीलंका र माल्दिभ्सबाट एक–एक गरी १६ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया