चिनियाँ राष्ट्रपति सी चिनफिङ आउने अघिल्लो दिन शुक्रबार थप तीन तिब्बती शरणार्थी काठमाडौंमा पक्राउ भएका छन्। समाजवादी पार्टी नेपालकी नेतृ सुनिता साह भने आफ्नो निवास राजविराज ६, सप्तरीबाट पक्राउ भएकी हुन्।
बिहिबार मात्रै काठमाडौंका विभिन्न ठाउँबाट आठ तिब्बती पक्राउ भएको भोलिपल्ट शुक्रबार स्वयम्भुबाट थप तीन तिब्बती शरणार्थी पक्राउ परेको प्रहरीले जनाएको छ।
अघिल्लो महिना चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा सुनिता साहको नेतृत्वमा चीनविरुद्ध प्रर्दशन हुँदा नौ जना महिला पक्राउ भएका थिए। साहको नेतृत्वमा फेरि पनि सी भ्रमणको अवसरमा विरोध प्रदर्शन हुने आंशका गर्दै उनलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले बताए।
शुक्रबार स्वयम्भुबाट पक्राउ हुने तीन महिलाहरुमा सिन्धुपाल्चोक बस्दै आएकी ५५ वर्षीय छिरिङ लामा, मुस्ताङ ठेगना भइ एक हप्तादेखि स्वयम्भुको ठूलोभर्याङमा बस्दै आएकी छिरिङ अम्बे र मुस्ताङबाट काठमाडौं आएकी ६४ वर्षीय पेम्पा छेतेन छन्।
नेपाल प्रहरी स्वयम्भु वृत्तका डिएसपी लालध्वज सुवेदीले सी भ्रमणको समयमा काठमाडौं आएका तिब्बती केही शरणार्थीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिए। बृद्ध उमेर भएका उनीहरुलाई सोधपुछपछि छाडिने उनले खुलाए।
पक्राउ पर्ने तिब्बतीहरुले ‘स्वतन्त्र तिब्बत’ अंकित झन्डा, लोगो, टिसर्ट, ज्याकेट प्रयोग गर्ने गरेको प्रहरी जनाएको छ।
बिहिबार मात्र बौद्धबाट तीन, चोभारबाट दुई र स्वयम्भुबाट दुई गरी सात जना पक्राउ भएका थिए।
तेन्जिङ नम्दाक स्वयम्भुबाट र काठमाडौंको गोकर्णमा बस्ने १८ वर्षीय केल्साङ तामाङलाई तिब्बतको झन्डा अंकित व्याग बोकेको अवस्थामा प्रहरीले बौद्ध स्तुपाबाट बिहान पक्राउ गरेको थियो। बाँकीको नाम खुल्न सकेको छैन।
बिहिबार नै चोभारबाट पक्राउ भएका दुई तिब्बतीको पनि पहिचान खुल्न सकेको छैन।
असोज १७ गतेयता दर्जनौं तिब्बतीहरुलाई प्रहरीले पक्राउ गर्दै अनुसन्धानपछि रिहा गर्दै आएको छ।
दलाई लामाका नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सोसहित तिब्बती शरणार्थीका ३३ जना प्रतिनिधि भने यतिबेला भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा छन्।
धर्मशालास्थित निर्वासित तिब्बत सरकारले आयोजना गरेको विशेष बैठकमा भाग लिन गएका उनीहरु राष्ट्रपति सीको भ्रमणपछि मात्र नेपाल फर्कने जनाइएको छ।
प्रतिक्रिया