ad ad

राजनीति


खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी होः प्रधानमन्त्री

खुला दिसामुक्त राष्ट्र घोषणा सभ्यताको नयाँ सिँढी होः प्रधानमन्त्री

नेपालखबर
असोज १३, २०७६ सोमबार १०:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको ‘नेपाल खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री ओलीले यस्तो बताउका हुन्। उनले घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरुपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको जानकारी दिए। उनले भने, ‘हाम्रो विकास हामीले गर्नुपर्छ। सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ। यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ। नयाँ नेपाल यसै गरी बन्ने हो।’

उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताए। यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, सङ्क्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्री ओलीले बताए।

‘हामी जनताप्रति उत्तरदायी हुन्छौँ। जनतालाई अमानवीय अवस्थामा हुन नदिने संकल्प छ। सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गर्छौँँ। अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ। प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ’, उनले भने, ‘सिंगै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ।’

प्रधानमन्त्री ओलीले नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरेका थिए। साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने संकल्प पनि गरे। घोषणालाई कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गड्गडाहटले स्वागत गरेका थिए।
सो अवसरमा खानेपानीमन्त्री विना मगरले नेपाल आधारभूतरुपमा सरफाइमा अग्रसर भएको जनाउँदै पछिल्लो समयमा नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्यांक प्रस्तुत गरिन्। शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफ्नो प्रदेशमा पक्की शौचालय र पर्याप्त पानीको धारा नभएको र राउटेहरु घुमन्ते भएकाले उनीहरुलाई स्थायी शौचालय दिन नसकिने बताए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले सरसफाइमा नेपाल अग्रसर भए पनि स्वास्थ्य क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले एकताबद्ध भएर योजनाको कार्यान्वयन गर्न सकेमा कठिनतम लक्ष्य पनि पूरा गर्न सकिन्छ भन्ने उदारहरण आजको घोषणा भएको बताए। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनालले ऐतिहासिक सफलता हामीले प्राप्त गरेको जनाउँदै यो समग्र नेपाली प्रतिष्ठा, सभ्यता र सम्मानसँग जोडिएको विषय भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .