राजनीति


हाम्रो संविधान विश्वका कुनै पनि देशको भन्दा कमजोर छैनः नेपाल

हाम्रो संविधान विश्वका कुनै पनि देशको भन्दा कमजोर छैनः नेपाल

नेपालखबर
असोज २, २०७६ बिहिबार ६:१३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताए।

संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) ले बिहीबार आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाए।

नेता नेपालले भने, ‘अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ। आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत ग¥यौँ। यो संविधान आफैँमा अनुपम दस्तावेज हो। विश्वका कुनै पनि संविधानभन्दा कमजोर छैन। यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ। केहीले सुविधै सुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ।’

उनले बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने जनाए।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताइन्। उनले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न कार्य र महँगो शिक्षा हुने स्थिति गलत भएको बताए।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाइ राखे।

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बालअधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हड्ताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad