सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसँग व्यवहार गर्ने स्पष्ट पारेका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न विहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्काेटाले नेपालले स्वतन्त्र मुलुकको हैसियतमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रसँग व्यवहार गर्ने बताए।
इण्डोप्यासेफिकका सम्बन्धमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सार्वजनिक अभिव्यक्ति र त्यसमा अमेरिकी सरकारले नेपाल सरकारको धारणा मागेको सन्र्दभमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले नेपाल सरकारको पुर्ववत मान्यतामा कुनै पनि परिर्वतन वा विचलन नआएको स्पष्ट पारेका हुन्।
उनले भने, ‘इण्डोप्यासेफिकका बारेमा वा बिआईआरका सम्बन्धमा, स्वतन्त्र मुलुकको हैसियतमा हामी हाम्रा छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुसँग आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं र गर्दै आएका छौँ। पुर्ववत मान्यतामा कुनै पनि विचलन आएको छैन र परिर्वतन आएको छैन।’
मन्त्री बाँस्कोटाले फिल्म हलमा राष्ट्रगान बजाउनुपर्ने निर्णय नभएको बताए। उनले फिल्महलमा राष्ट्रियगान बजाउने भन्ने विषय आफ्नै मन्त्रालय मातहतको भएपनि आफूले पनि सुनेको मात्रै बताए। उनले भने, ‘फिल्महलमा राष्ट्रियगान बजाउने कुरा मैले पनि सुनिरहेको छु। मलाई चाहीँ थाहा भएन। हावा नचलि पनि पातहरु हल्लिएको देखेर कुन युग हो भनेर प्रश्न गर्न मन लागेको छ?’
उनले डेंगु संक्रमण नियन्त्रण बाहिर नभएको नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको स्पष्ट पारे। बैशाखदेखि देखिएको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारी तथा गैह्सरकारी, सर्वसाधरण लगायत सबै क्षेत्रबाट पहल हुँदैछ भन्दै उनले नियन्त्रण बाहिर नभएको तर धेरै दुःख दिएको डेंगु संक्रमणप्रति सरकार सचेत रहेको बताए।
विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले विश्वभर ३९/४० करोड मानिस डेंगु प्रभावित बनेको तथा ३ अर्ब मानिसहरु संक्रमणको जोखिममा रहेको देखाएको उल्लेख गर्दै उनले यसको नियन्त्रण सरकारको एक्लो प्रयासले संभव नहुने बताए।

प्रतिक्रिया