ad ad

राजनीति


प्रचण्डले गरे इण्डो-प्यासेफिक रणनीति अस्वीकार, देउवाले बीआरआईको नाम नै लिएनन्

प्रचण्डले गरे इण्डो-प्यासेफिक रणनीति अस्वीकार, देउवाले बीआरआईको नाम नै लिएनन्

नेपालखबर
भदौ २५, २०७६ बुधबार ५:१६,

चीनका विदेशमन्त्री वाङ यीसँगको भेटमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही रणनीतिक विषयमा फरक धारणा राखेको पाइएको छ।

अध्यक्ष दाहालले चीनको पहलमा अगाडि बढेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई अगाडि बढाउने प्रतिवद्धता जनाउँदै अमेरिकाको पहलमा अगाडि बढाइएको इण्डो प्यासेफिक रणनीतिको विरोध गरेका छन्।

दाहाल लगत्तै वाङसँग भेटेका देउवाले भने बीआरआईको नाम नै लिन चाहेनन्।

चीनका राष्ट्रपति सी चिनफिङको एक महिनापछि हुने नेपाल भ्रमणको तयारीका क्रममा विदेशमन्त्री वाङ तिन दिने भ्रमणमा काठमाडौं आएका थिए। राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता सकेपछि वाङले बेइजिङ फर्कनुअघि मंगलबार होटल मेरियटमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

‘नेपाल असंलग्न नीतिमा बलियोसँग उभिएको छ र तथाकथित इण्डो प्यासेफिक रणनीतिसँग असमत छ’, वाङसँगको भेटमा अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, ‘नेपाल बहुपक्षीय विश्व व्यवस्थाको पक्षमा छ र सन्तुलित, सहभागितामूलत तथा सबैको जित हुने विश्वव्यापीकरणको पक्षमा चीनसँग काम गर्न चाहन्छ।’

चीनले विश्व शक्ति बन्नेगरी आफ्नो आर्थिक रणनीतिक लक्ष्य हासिल गर्न बीआरआई परियोजना अगाडि बढाएपछि त्यसलाई सन्तुलन गर्न अमेरिकाले इण्डो प्यासेफिक रणनीति अगाडि ल्याएको मानिन्छ।

केही महिनाअघि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अमेरिका भ्रमण गरेपछि अमेरिकी विदेश मन्त्रालयले ‘नेपाल इण्डो प्यासेफिक रणनीतिको केन्द्रमा रहेको’ भन्दै वक्तव्य जारी गरेको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले भने नेपाल असंलग्न नीतिको पक्षमा रहेको भन्दै अमेरिकासँग इण्डो प्यासेफिक रणनीतिमा संलग्न हुनेबारे छलफल नै नभएको बताउँदै आएका छन्।

अध्यक्ष दाहालले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा बेइजिङको हङकङ नीति र हङकङ सरकार विरुद्ध भइरहेको आन्दोलनको सन्दर्भमा पनि मुख खोलेका छन्।

नेपालले कुटनीतिक माध्यमबाट हङकङ चीनको आन्तरिक मामिला रहेको बताउँदै आएपनि उच्च नेताले यसबारे बोलेको संभवतः यो नै पहिलो पटक हो।

‘हङकङ मामिला चीनको आन्तरिक मामिला हो’, वाङसँग दाहालको भनाइ उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, ‘केही शक्तिहरूले हङकङ मामिलामा हस्तक्षेप गरिरहेका छन् र मानव अधिकारको नाममा आतंकवादविरुद्ध चीनको लडाइँमा अवरोध गरिरहेका छन्, नेपाल त्यसको विरोध गर्दछ।’

दाहालले चीनले गरेको विकासबाट नेपालले सिक्न खोजिरहेको भन्दै नयाँ चीन स्थापना भएको ७० वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीलाई बधाई दिएका छन्।

Deuba Wang

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले पनि विदेशमन्त्री वाङसँग ‘नेपाल सधैं एक चीन नीतिमा अडिग रहेको र नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने’ दोहोर्याएका थिए।

‘हामी कांग्रेस पार्टीसँग आदानप्रदान वृद्धि गर्न र एक अर्काबाट सिक्न इच्छुक छौं’, वाङले देउवालाई बीआरआई परियोजनाको स्मरण गराउँदै भनेका छन्, ‘बीआरआईबाट चीन र नेपालले सकारात्मक परिणाम हासिल गरेका छन् र थप उपलब्धी हासिल गर्न हिमालयपार कनेक्टिभिटि बढाउन चाहन्छन्।’

विदेशमन्त्री वाङले नेपाल–चीन सम्बन्धमा अहिले सबैभन्दा महत्वपूर्ण एजेण्डा बनेको बीआरआई परियोजना अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ आवश्यक रहेको आसय व्यक्त गरेपनि देउवा त्यो विषयमा खुलेर प्रवेश गर्न नचाहेको चीनको विदेश मन्त्रालयको नोटबाट खुल्छ।

‘नेपाल र चीनबीच सबै क्षेत्रमा सहयोग र सम्पर्क विस्तार हुँदै जाँदा नेपाल भूपरिवेष्ठित (ल्याण्डलक्ड) बाट भूजडित (ल्याण्डलिंक) राष्ट्रमा परिणत हुनेछ’, बीआरआईको नाम नलिइकन देउवाले भनेका छन्, ‘त्यसले क्षेत्रीय अर्थतन्त्र वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ।’

चीनका विदेशमन्त्री वाङले देउवासँग नेपालमा राजनीतिक परिस्थिति परिवर्तन भएपनि नेपाली जनतामा आधारित चीनको नेपाल नीति परिवर्तन नहुने भन्दै नेपाली कांग्रेससँग पार्टीगत सम्बन्ध विस्तार गर्न चिनियाँ कम्युनिष्ट पार्टी उत्सुक रहेको बताएका थिए।

देउवाले पनि चिनियाँ कम्युनिष्ट पार्टीसँग आदानप्रदान वृद्धि गर्न चाहेको बताएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .