अष्ट्रेलियन तेक्वान्दो नेशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समूहको प्रतिस्पर्धामा नेपाली मूलका १३ वर्षीय स्पन्दन थापाले रजत पदक जितेका छन्।
अष्ट्रेलियाको गोल्ड कोष्टमा अवस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्द्वीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेकाे लुम्बिनी कपिलवस्तु ग्लाेबल क्याम्पेनकी प्रभा श्रेष्ठले जानकारी दिइन्।
स्पन्दन सुमि श्रेष्ठ र शंकर थापाका छाेरा हुन्। उनी मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका छन्। सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्ने उनकाे बानीकै कारण पढाइसंगै तेक्वान्दो खेल रोजेका थिए। स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएकाे श्रेष्ठकाे भनाइ छ।
पढाइमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा विजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन्। प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए।
उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन्। उनकाे विजयपश्चात् क्लबका प्रशिक्षक मार्कोले बधाई दिँदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए।
स्पन्दनका बुबा शंकर थापा मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका वर्तमान अध्यक्ष हुन् भने सुमी श्रेष्ठ रजिष्टर्ड नर्स हुन्।
प्रतिक्रिया