राजनीति


चीनका विदेशमन्त्री वाङ काठमाडौंमा, यस्तो छ कार्यक्रम (भिडियाे)


नेपालखबर
भदौ २२ ,

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी  आइतबार साँझ काठमाडौंमा अवतरण गरेका छन्।

विदेशमन्त्री वाङले नेतृत्व गरेको चीनको १२ सदस्यीय भ्रमण दल पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमानमा काठमाडौं आइपुगेको हो।

शनिबार पाकिस्तानको राजधानी इस्लामावादमा चीन–अफगानिस्तान–पाकिस्तान त्रिदेशीय विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी भएर वाङ नेपाल आएका हुन्।

विदेश मन्त्री वाङ यी आउने जहाज केही समय आकाशमै होल्ड भएर ल्यान्ड भएको छ। उनी चार बजेर २० मिनेटमा अवतरण हुने समय तालिका भए पनि दुई पटक डिले नोटिस गरिएको थियो।

wang 2

पहिलो पटक उनी चढेको जहाज ५ बजेर १७ मिनेटमा अवतरण हुने भनियो। त्यसपछि फेरि डिले नोटिस जारी गर्दै ५ बजेर ३५ मिनेटमा अवतरण हुने भनिएको थियो। उनी चढेको जहाज खराब मौसमका कारण केही समय आकाशमै रोकिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव र परराष्ट्र सचिव शंकरदाश बैरागीले स्वागत गरेका छन्। 

विदेशमन्त्री वाङ करिब एक महिनापछि हुने चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीको क्रममा नेपाल आएका हुन्। चीनका राष्ट्रपति सी दसैं लगत्तै नेपाल भ्रमणमा आउने करिब निश्चित भएको छ।

wang 3

दुई पटक विदेशमन्त्री भएयता वाङको यो तेस्रो नेपाल भ्रमण हो। काठमाडौंमा करिब ४५ घण्टा रहने विदेशमन्त्री वाङ सोल्टी क्राउन प्लाजा होटलमा बस्नेछन्।

काठमाडौंमा वाङको व्यस्त कार्यसूची
परराष्ट्र मन्त्रालय स्रोतबाट नेपालखबरले प्राप्त गरेको विदेशमन्त्री वाङको भ्रमण कार्यतालिका अनुसार काठमाडौंमा उनका अधिकांश भेटवार्ता सोमबारलाई तय गरिएको छ।

आइतबार साँझ र सोमबार बिहान वाङको कार्यक्रम खुलेको छैन तर संभवतः यो समय उनी चिनियाँ दूतावासले आयोजना गर्ने गतिविधिमा सहभागी हुनेछन्।

भदौ २३ गते, सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यहाँ दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुँदैछ।

wang 6

सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म, ४० मिनेट भेटवार्ता गर्नेछन्।

भदौ २४ गते मंगलबार चीनका विदेशमन्त्री वाङले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

wang

अध्यक्ष दाहालसँग बिहान ९ बजेदेखि ९ः३० बजेसम्म आधा घण्टा भेटवार्ता गरेपछि वाङको टोलीले देउवासँग ९ः३० बजेदेखि १० बजेसम्म आधा घण्टा भेट्ने कार्यसूची तय भएको छ।

वाङले दाहाल लगत्तै देउवासँग भेटने समय तय गरिएपनि परराष्ट्र मन्त्रालयको कार्यक्रममा भेट्ने स्थान खुलाइएको छैन।

वाङको प्रतिनिधिमण्डल भदौ २४ गते, मंगलबार दिउँसो १ बजे विशेष विमानबाट चीन फर्कने कार्यक्रम छ।

wang 4

विदेशमन्त्री वाङको टोलीमा चीनको विदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुइ, चाइना अन्तर्राष्ट्रिय डेभलपमेन्ट कोअपरेशन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङछी लगायत रहेका छन्।

भदौ २२, २०७६ आइतबार ८:४५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad