राजनीति


भारतले हिमाली सीमा क्षेत्रमा थप ५० हजार सेना तैनाथ गरेपछि चीन यसो भन्छ...

भारतले हिमाली सीमा क्षेत्रमा थप ५० हजार सेना तैनाथ गरेपछि चीन यसो भन्छ...

नेपालखबर
असार १४, २०७८ सोमबार १२:२०,

सोमबार मात्र ब्लुमबर्गमा भारतले चीनसँगको सीमामा थप ५० हजार सेना तैनाथ गरेको खबर प्रकाशित भएको थियो।

खबरअनुसार भारतका यतिबेला कम्तिमा २ लाख सेनाले सिमानामा चिनियाँ गतिविधिको निगरानी गरिरहेका छन्। समाचारमा भारतीय पक्षले सैन्य जहाजहरु पनि थपेर तैनाथ गरेको जनाइएको छ।

चीनसँगको सीमा क्षेत्र लद्दाखमा तीन दिने भ्रमणमा भारतीय रक्षामन्त्री राजनाथ सिंह रहेका बेला सेनाहरु थपेर तैनाथ गरिएको खबर आएको हो।

भारतले सीमा क्षेत्रमा थप सेना तैनाथ गरेको खबरसँगै चीनले आफुले नभएर भारतले नै सीमा विवाद कम गर्न कदम चाल्नुपर्ने बताएको हो।

यसअघि भारतले चीनले विवादित क्षेत्रबाट सेना नहटाएर सहमति अनुसार काम नगरेको आरोप लगाएको थियो। यतिबेला चीनले भारतकै कारण सीमा तनाव जारी रहेको बताएको हो।

ब्लुमबर्गको खबरअनुसार भारतले गत वर्षभन्दा ४० प्रतिशतले हिमाली क्षेत्रमा सेना बढाएको छ। यी सेनालाई अत्यधिक शक्ति र आत्मनिर्णयको अधिकार प्रदान गरिएको छ।

जसअनुसार चिनियाँ पक्षलाई आक्रमण गर्ने या नगर्ने भन्ने निर्णय भारतीय सेना आफैंले लिन सक्छन्।

दक्षिण एसियाली मामिला विज्ञ तथा छेंदु इन्स्टिट्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लङ छिङचुनका अनुसार भारतले सैनिक थपेर तैनाथ गर्नुको अर्थ उनीहरुको पूर्वाधार र सैन्य गतिशीलता कमजोर छ। चीन बराबर शक्ति सन्तुलन गर्न भारतले पहिलो पंक्तिमा थप सेना तैनाथ गर्नुपर्ने उनको भनाइ छ।

उनी भन्छन्,‘तर राम्रो पूर्वाधार र लामो दूरीमा आक्रमण गर्ने क्षमताको साथ, बेइजिङले तत्कालै सिपाहीहरू आवश्यक ठाउँमा पठाउन सक्छ।’

हालै मात्र तिब्बतमा बुलेट रेल सेवा सुरुवात भएको खबर आएको थियो। सो रेल भारतको अरुणाचल प्रदेश नजिकैबाट कुद्ने जनाइएको थियो। सोमबार मात्र लद्दाखमा रक्षामन्त्री सिंहले ५३ पूर्वाधारको उद्घाटन गरेका छन्।

तिब्बतको रेल र लद्दाखको पूर्वाधार दुवै रक्षा प्रयोजनको लागि दुवै देशको लागि महत्वपूर्ण भएको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .