राजनीति


अझै १५ वर्ष राजनीतिक मैदानमा हुन्छु: प्रधानमन्त्री

अझै १५ वर्ष राजनीतिक मैदानमा हुन्छु: प्रधानमन्त्री

नेपालखबर
भदौ ४, २०७६ बुधबार ६:५,

प्रधानमन्त्री केपी शमौ ओलीले आफू अझै १५ वर्ष राजनीतिक मैदानमै रहने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले केही व्यक्ति आफूलाई मरिहालोस् भन्ने चाहे पनि आफू अझै १५ वर्ष मैदानमै हुने दावी गरेका हुन्।

 प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा मिडिया र सामाजिक सञ्जालमा भइरहेका चर्चा-परिचर्चा खण्डन गर्दै आफूलाई मरिहालोस् भन्ने विरोधीलाई आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए।

 ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्’, उनले भने, ‘मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनावको सामना गर्नका लागि तयार भएर बस्न आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले आउँदो निर्वाचनमा अस्तित्व रक्षाको लडाईं अहिलेदेखि नै सुरु भएको दावी गरे। ‘यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्‍या  हुनाले फेरि निरास होलान् पछि भनेर। धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ’, प्रधानमन्त्री ओलीले भने।

संविधान दिवस राष्ट्रिय महोत्सवका रुपमा मनाउनु पर्छ

प्रधानमन्त्री ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताए। उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको दावी समेत गरे।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे उनले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे। उनले भने, ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ। जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ। यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो।’

 उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए।

जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सीमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागिताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिए।

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार पुनः उपचारका लागि नै सिंगापुर जाँदै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .