राजनीति


सिमानामा एसएसबीले गरेको अवरोध हट्यो

सिमानामा एसएसबीले गरेको अवरोध हट्यो

नेपालखबर
जेठ २६, २०७८ बुधबार १४:३५,

दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ। दुवै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो।

भारतीय एसएसबीले सुन्दरनगरस्थित नारायण अधिकारीलाई बेसार खेती लगाउन नदिएपछि स्थानीयसित विवाद बढेको थियो। विवाद बढेपछि सीमावर्ती क्षेत्रमा तनाव उत्पन्न हुने चिन्ता बढेको थियो। सीमामा तनाव बढेपछि सुरक्षा अधिकारीले भारतीय एसएसबीसित छलफलका लागि पहल गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर ऐर र एसएसबीका अधिकारीले सुन्दरनगरमा छलफल गरी विवाद हल गरेका हुन्। बैठकमा दोधारा चाँदनी नगरपालिकाका प्रमुख बीरबहादुर सुनारसहित जनप्रतिनिधि पनि सहभागी थिए। छलफलमा एसएसबीले तत्काल अधिकारी परिवारलाई बेसार लगाउन अवरोध नगर्ने सहमति गरेको छ। दुई पक्षबीच सहमति भएपछि विवाद तत्कालका लागि टरेको छ।

एसएसबीले अधिकारी परिवारले बेसार खेती लगाउँदै आएको क्षेत्र दशगजा क्षेत्रमा पर्ने दाबी गरेको छ। अधिकारी परिवारले भने जग्गाधनी पूर्जा भएर खेतीपाती गर्दैै आएको बताएका छन्। गत वर्ष सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई दशजगा क्षेत्र छाडेर खेती गर्न दिने सहमति भएपनि भारतीय एसएसबीले सिधै नेपालीको खेतमा आएर अवरोध गर्ने कार्य गर्दै आएको छ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दोधारा चाँदनीका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराले दुई देशीय छलफलमा एसएसबीले तत्काल बेसार खेती लगाउन दिन सहमत भएको बताए। यसअघि पनि एसएसबीले अधिकारी परिवारलाई खेतीपाती गर्न अवरोध गरेको थियो। दुई वर्षअघि सुन्दरनगरमा दशगजाको बाटो प्रयोगसम्बन्धी विवादलाई दिएर तनव उत्पन्न भएको थियो।

यसैगरी, भीमदत्त नगरपालिका-९ ब्रम्हेदमा निर्माण भइरहेको बाह्य चक्रपथस्थित कल्भर्ट निर्माण र बेलौरी नगरपालिकाको भुडामा हुलाकी राजमार्गमा कालोपत्रे गर्ने कार्यमा समेत भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad