राजनीति


यसकारण ओलीको एकता प्रस्ताव झुटको पुलिन्दा हो : जगन्नाथ खतिवडा

यसकारण ओलीको एकता प्रस्ताव झुटको पुलिन्दा हो : जगन्नाथ खतिवडा

नेपालखबर
जेठ २४, २०७८ सोमबार ०:५६,

नेकपा एमालेका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आन्तरिक एकता प्रस्ताव झुटको पुलिन्दा भएको आरोप लगाउँदै आफूहरूलाई स्वीकार नभएको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष ओलीले आइतबार साँझ एमालेलाई २०७५ जेठ ३ पूर्व अवस्थामा फर्काउने घोषणसहित एकताका लागि असन्तुष्ट माधव नेपाल पक्षलाई ६ बुँदे प्रस्ताव राखेका छन्।

प्रस्ताव सार्वजनिक हुनासाथ नेपाल पक्षकै नेताहरूबीच मत बाझिएको हो।

यसै क्रममा पोलिटब्युरो सदस्य खतिवडाले पनि ओलीको प्रस्ताव जालसाँजीपूर्ण भएको दाबी गर्दै आफ्ना नेताहरूलाई भ्रममा नपर्न अपिल गरेका हुन्।

ओलीले गरेको आन्तरिक एकता प्रस्तावमा माओवादी केन्द्रबाट आएका नेतालाई समेत समेटिएको केन्द्रीय कमिटी नै कायम गर्ने, पार्टीबाट निष्कासित नेतालाई गरिएको कारबाही फिर्ता नगर्ने, संसद् विघटनको निर्णय फिर्ता लिएर माफी माग्नुको साटो उल्टै यसविरुद्ध सर्वाेच्च अदालतमा दर्ता मुद्दामा गरिएको हस्ताक्षर फिर्ता लिनु भनिनुले यो अलमल्याउने कुरा मात्र भएको नेता खतिवडाले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्।

यो पनि : ‘एमालेलाई जेठ ३ मा फर्काएपछि ओलीले गरेका सबै राष्ट्रघात माफ हुन्छन्?’

एमाले पोलिटब्युरो सदस्य खतिवडाले भनेका छन्, ‘यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन। मातहत पार्टी कमिटी र जनसंठनका बारेमा पनि उनले एमाले कालमा नफर्काउने गरी ‘मूलभूत रूपमा’ भन्ने शब्द राखेर षडयन्त्रको बाटो सुरक्षित गरेका छन्। स्वीकार्य छैन। न अमलिन हुन अनुरोध छ।’

यस्तो छ नेता खतिवडाको वक्तव्य :
केपी ओलीको पार्टी एकताबारेको वक्तव्य भ्रामक छ। तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादीसमेत समावेश गरेर २६४ बनाएका छन्।

उनले ज्येष्ठ २ को पूर्व अवस्थामा जानुपर्नेमा सुनियोजित रूपमा ज्येष्ठ ३ को पूर्व अवस्थामा लेखेर जाल गरेका छन्। सर्वाेच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरू कुनै कुरामा उनले अफूलाइ सच्याएका छैनन्।

यो हाम्रो सहमतिको वक्तव्य त हुँदै होइन। मातहत पार्टी कमिटी र जनसंठनका बारेमा पनि उनले एमाले कालमा नफर्काउने गरी ‘मूलभुत रूपमा’ भन्ने शब्द राखेर षडयन्त्रको बाटो सुरक्षित गरेका छन्। स्वीकार्य छैन। न अलमलिनु हुन अनुरोध छ।

यसबीचमा विभिन्न कमरेडहरूले गल्ती गरेकोमा कारबाही गरिने छैन भनेका छन्, निष्कासन गरिएकाको कारबाही खारेज गरेका होइनन्। यो पनि कार्यकर्तालाइ अलमल्याउने तर्क मात्र हो। आफूले गल्ती गरेको स्वीकार गरेका छैनन्। समग्रमा यो झुट र भ्रमको पुलिन्दा हो। कोही पनि भ्रममा नपर्नुहोला।

संसद् विघटन गरेकोमा माफी माग्नु र विघटन फिर्ता लिनुपर्ने प्रम ले उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएका छन्।

कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नुभन्दा ओलीले पार्टी अध्यक्ष पदबाट रारीनामा गर्नु सबैभन्दा उत्तम हुनेछ। यस्तो अवस्थामा केपी ओलीको मनखुसीले निकालेको वक्तव्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।

यो पनि : चार नेताको १० बुँदे पत्रः ओलीसँग वार्ता रोकेर नयाँ बाटो तय गरौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .