पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य विष्णुलाल वाइबा (बिएल वाइबा) को निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
कोरोना संक्रमणको कारण नेता वाइबाको बिहीबार साँझ ७८ वर्षको उमेरमा निधन भएको थियो। सिरहाको मिर्चैया निवासी वाइबाको उपचारको क्रममा झापामा निधन भएको हो।
अध्यक्ष प्रचण्डले शुक्रबार बिहान श्रद्धाञ्जली वक्तव्य प्रकाशित गरी नेता वाइबाको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्व पूर्व सांसद कमरेड विष्णुलाल तामाङको निधन भएको खबरले अत्यन्त दुःख लागेको छ,’ प्रचण्डले भनेका छन्, ‘कमरेड वाइबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता र कम्युनिष्ट आन्दोलनले अभिभावक गुमाएको प्रचण्डले उल्लेख गरेका छन्।
सादा जीवन, सरल र जुझारु नेता वाइबा किसान र मजदूरबीच लोकप्रिय थिए। २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (चौम)को केन्द्रीय सदस्य चयन भएका वाइवा २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ५ बाट तत्कालिन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
वाइबा २०७० सालमा नेकपा तदर्थ र एकीकृत नेकपा (माओवादी) बीचको एकीकरण पछि केन्द्रीय सदस्य हुँदै नेकपा (माओवादी केन्द्रं) को पोलिटब्यूरो सदस्य बनेका थिए। नेता वाइवा शिक्षण पेशा हुँदै राजनीति आन्दोलनमा क्रियाशील भएका उनलाई नजिकबाट चिनेका सिरहा निवासी माओवादी केन्द्रका नेता विश्वनाथ साह बताउँछन्।
उच्च रक्तचाप र मधुमेहबाट पीडित लाइबालाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। उनका तीन छोरा र दुई छोरी छन्।

प्रतिक्रिया