यूनाइटेड अरब इमिरेट्स (यूएई) बाट नेपाललाई कोभिड महामारी सामना गर्न आवश्यक स्वास्थ्य सामग्री पठाएको छ।
यूएईले नेपाललाई १ सय ५० भेन्टिलेटर, १ सय ५० ट्रली, ३ लाख १८ हजार ६ सय मास्क, ९ हजार कभरअल, १५ हजार गाउन र २० हजार गगल्स पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यूएईले पठाएका यी सामग्री लिएर विशेष विमान बुधबार विहान काठमाडौं आइपुगेको हो।
काठमाडौंस्थित यूएई दूतावासका अधिकारीले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरेका थिए। नेपाल सरकारले गरेको अनुरोधका आधारमा यूएईले सो सहयोग प्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो सहयोगप्रति नेपालले यूएईलाई विशेष धन्यवाद दिएको छ।
यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली अल सायेगले सो सहयोग गर्नेबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेका थिए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सायेगबीच सोमबार भएको भर्चुअल वार्ताका क्रममा उनले सो जानकारी गराएका हुन्।
सो भर्चुअल वार्तामा नेपाल र यूएई सम्बन्धका विभिन्न पक्ष र कोभिडसम्बन्धी विषयहरु छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
Shares

प्रतिक्रिया