ad ad

राजनीति


लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्री र आठ सांसदले मतदान गर्न नपाउने

लुम्बिनी प्रदेश उपनिर्वाचनः चार मन्त्री र आठ सांसदले मतदान गर्न नपाउने

नेपालखबर
जेठ १५, २०७८ शनिबार ४:१६,

लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य चयनका आइतबार (१७ जेठ) हुने राष्ट्रिय सभा उपनिर्वाचनमा चारजना मन्त्रीसहित आठ सांसदले मतदान गर्न नपाउने भएका छन्।

विभिन्न दलबाट कारबाहीमा परेकाले चार मन्त्रीसहित प्रदेश सभाका ८ सांसदले मतदानमा भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ। उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा) ले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ।

आयोगका अनुसार प्रदेशसभाका ८७ मध्ये ७९ जना सांसदले मात्रै मतदानमा भाग लिन पाउनेछन्। निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि गरी २ सय ९६ जना मतदाता छन्।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित राष्ट्रियसभा सदस्य खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो। सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको हो।

पाण्डे भने एमाले लुम्बिनी प्रदेशसभा सदस्य त्यागेर कांग्रेस प्रवेश गरेका व्यक्ति हुन्। विपक्षी गठबन्धनले उनैलाई उम्मेदवारको बनाएको हो।

निर्वाचनमा प्रदेश सांसदका साथै नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय ९६ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन्।

अन्तिम मतदाता नामावलीअनुसार प्रदेशसभामा ७९ सदस्य छन्। जसमा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका दुई र राजमोका एक सांसद छन्।

पार्टीको निर्णय नमानेको भन्दै जसपाको उपेन्द्र यादव पक्षले प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजय यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । हाल, लुम्बिनीमा मन्त्री रहेका उनीहरूले मतदान गर्न भने पाउनेछैनन्।

निर्वाचन आयोग प्रवक्ता राजकुमार श्रेष्ठले चार मन्त्रीलाई पार्टीले कारबाही गरेको पत्र प्रदेश सभाले आयोगलाई पठाएको तर सर्वोच्च अदालतले कारबाही नगर्न दिएको आदेशको पत्र नपठाएकाले अन्तिम नामावलीमा उनीहरुको नाम समावेश नभएको जानकारी दिए।

चार मन्त्रीसहित विभिन्न दलबाट कारबाहीमा परेका अन्य चार जना प्रदेश सभा सदस्यले पनि मतदान गर्न नपाउने श्रेष्ठले बताए।

स्थानीय तहतर्फ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख गरी २ सय १७ मतदाता छन्। जसमामध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र चार जना छन्। निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ।

मतदाताको संख्या हेर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार बलिया देखिन्छन्। यसअघि बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदको लागि भएको निर्वाचनमा पनि गठबन्धन तर्फका उम्मेदवार डा.खिमलाल देवकोटाले एमाले उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .