राजनीति


सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न सीसीएमसीलाई प्रधानमन्त्रीको निर्देशन

नेपालखबर
जेठ ११, २०७८ मंगलबार १३:५६,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन्।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्ने गरि काम गर्न निर्देशन दिएका हुन्।

उनले कोभिड १९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए।

प्रधानमन्त्रीको भनाई उदृत गर्दै उनले भने, ‘खोपको उपलब्ध गर्नुपर्नेमा जोड दिनुभएको छ। खोप कहाँबाट ल्याउने हो र कसरी ल्याउने हो। नागरिकहरुलाई खोप दिनुपर्छ। खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता भनेको खोप हो। खोपपछि स्वास्थ्य सामाग्रीहरुको अभाव देखिएको छ र ती सामाग्रीहरु पनि नेपाल सरकारले गरेको आव्हान अनुसार विभिन्न देशबाट उपलब्ध भएका छन् र उपलब्ध भएका सामाग्रीहरुको यथार्थ विवरण राखेर समानुपातिक र न्यायपुर्णरुपमा अस्पतालहरुमा वितरण गर्न निर्देशन भएको छ।’

आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिए। सार्वजनिक खरिद ऐन र नियमावलिमा देखिएका समस्यालाई सहज गराउन अध्यादेश ल्याएको र अध्यादेशले सबै बाटो खोलेकाले कुनै अलमल नगरि काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएको सचिव बरालले बताए।

कोभिड १९ निर्देशक समितिको पहिलो बैठकमा कोरोना १९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो। सोमबार सरकारले कोरोना १९ व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो। उनले मंगलबारदेखि नै आफ्नो जिम्मेबारी सम्हाल्दै बैठकमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad