राजनीति


सरकारमा जाने महन्थ ठाकुर पक्षको तयारी, आकांक्षी धेरै हुँदा अलमल

सरकारमा जाने महन्थ ठाकुर पक्षको तयारी, आकांक्षी धेरै हुँदा अलमल

नेपालखबर
जेठ १०, २०७८ सोमबार ५:५७,

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूहमा सरकारमा सहभागी बन्ने विषयमा छलफल सुरु भएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा अध्यक्ष उपेन्द्र यादव पक्ष र ठाकुर पक्ष विभाजित भएसँगै जसपाभित्रको पूर्वराजपा समूहले सरकारमा जाने तयारी थालेको हो।

जसपा नेता लक्षमणलाल कर्ण भने सरकारमा सहभागिताको विषयमा छलफल भए पनि त्यसबारे कुनै निर्णय भइनसकेको बताउँछन्।

प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गरिरहेको उनले बताए।

‘प्रधानमन्त्रीजीले सरकारमा आउन आग्रह गर्नु भएको छ,’ नेपालखबरसँग उनले भने, ‘६ महिनाअघि पनि सरकारमा आउनुस् भन्नु भएको थियो। तर हामी एजेण्डा सम्वोधनको मागमा अडिग छौं। पार्टीभित्र सरकारमा कसरी सहभागी हुने भन्नेबारे छलफल चलिरहेको छ।’

केही माग सम्वोधन भए पनि अन्य महत्वपूर्ण मागबारे सरकारको धारणा आवश्यक रहेको उनले बताए।

तर जसपाका अर्का एक नेताका अनुसार प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीको नियुक्तिबारे अदालतमा मुद्दा परेको अवस्थामा त्यसको निर्णय नआउन्जेल अहिलेलाई बाहिरै बसेर समर्थन गर्ने विकल्पबारे पनि छलफल भएको छ।

‘अदालतमा मुद्दा परेको अवस्थामा तत्काल नजाउँ भन्ने एकथरी साथीहरुको मत छ,’ ती नेताले भने, ‘कसरी सरकारमा सहभागी हुने भन्नेबारे छलफल भए पनि निर्णय भएको छैन।’

ठाकुर पक्षमा मन्त्रीका लागि आकांक्षी धेरै देखिएपछि त्यसको व्यवस्थापन गर्न अर्को चुनौती थपिएको छ।

सांसदबिना मन्त्री रहेका पूर्वमाओवादीहरुको पद अदालतको आदेशबाट खारेज भएपछि रिक्त रहेको स्थानमा जसपाका नेतालाई सांसद बनाउने भनी प्रधानमन्त्रीले प्रतिबद्धता गरे पनि मन्त्री बन्न १५ जना भन्दा धेरै आकांक्षी देखिएपछि व्यवस्थापन गर्न चुनौतीपूर्ण भएको जसपा नेताहरुको भनाइ छ।

विघटित प्रतिनिधि सभामा नरहेका नेताले पनि मन्त्रीमा आकांक्षा देखाएका छन्।

पहिले आन्तरिक व्यवस्थापनपछि मात्र सरकारमा सहभागिताबारे निर्णय गर्ने एक नेताले बताए।

यादव पक्षबाट ठाकुर समूहतर्फ लागेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङले मन्त्रीमा दावी गरेका छन्। उनीहरु मन्त्रीको अफर पाएपछि ठाकुर पक्षमा लागेको स्रोतको भनाइ छ।

ठाकुरनिकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमत साह, वृषेशचन्द्र लालको पनि मन्त्रीमा दावी छ।

राजेन्द्र महतो, चन्दा चौधरी, अनील झा, राजकिशोर यादव, प्रमोद साह चन्द्रकान्त चौधरी, शरतसिंह भण्डारी र अकवाल मियाँको मन्त्रीमा दावी रहँदा अध्यक्ष ठाकुरलाई आन्तरिक विवाद भारी परेको हो।

कसलाई कुन कुन मन्त्रालयमा पठाउने भन्ने सहमति बनेपछि सरकारमा सहभागी हुने तयारीमा ठाकुर पक्ष छ।

‘एक दुई दिनभित्र आकांक्षीहरुको विषय समाधान भएपछि सरकारमा सहभागिता हुन सक्छ,’ ठाकुरनिकट एक नेताले भने, ‘अहिले कसलाई सरकारमा पठाउने भन्ने निर्णय गर्ने छलफलमै छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad