राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा हाल्ने तयारी, सांसदलाई नागरिकतासहित संसद् भवनमा भेला हुन निर्देशन

प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा हाल्ने तयारी, सांसदलाई नागरिकतासहित संसद् भवनमा भेला हुन निर्देशन

नेपालखबर
जेठ ९, २०७८ आइतबार ३:६,

विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ।

त्यसका लागि गठबन्धनमा आबद्ध दलले आज आफ्ना सांसदलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन्। 

आज तयारी सकिए आजै, नभए भोलि मुद्दा दर्ता गरिने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपालखबरलाई बताए।

संसद पुनःस्थापना र संविधानको धारा ७६ (५) अनुसार पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने माग गर्दै मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले बताए।

यसअघि शनिबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको यादव–भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाले संयुक्त बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेका थिए।

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने भन्दै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसार शुक्रबार अपराह्न ५ बजेसम्म बहुमत जुटाई कुनै पनि प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पद दाबी गर्न आह्वान गरेकी थिइन्। जुन समयभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पत्र पेस गरेका थिए। तर आफूसँग बहुमत नभएकै कारण विश्वासको मत नलिने घोषणा गरी एकैचोटि नयाँ सरकार गठनका लागि बाटो खुलाएका प्रधानमन्त्री आफैं १७५ सांसद मेरो समर्थनमा छन् भनेर सरकारको दाबी गर्न पुगेपछि राष्ट्रपतिले शुक्रबार मध्यराति दुवैको दाबी खारेज गर्र्दै प्रतिनिधि सभा विघटन गरेकी हुन्।

यसअघि पनि पुस ५ गते प्रतिनिधि सभा विघटन गरिँदा सर्वाेच्च अदालतले प्रधानमन्त्री÷राष्ट्रपतिको निर्णय उल्ट्याउँदै संसद् पुनःस्थापना गराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad