नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह डिस्चार्ज भएका छन्। ह्याम्स अस्पतालमा उपचाररत सिंह स्वास्थ्यमा सुधार आएपछि बिहीबार डिस्चार्ज भएका हुन्।
सिंहकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका अनुसार महामन्त्री सिंहको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। ज्वरो, निमोनिया, टाउको दुखाइलगायतका समस्या हटेको छ भने अक्सिजनको लेभल पनि सामान्य छ।
यद्यपी सिंह संक्रमणमुक्त भने भएका छैनन्। मंगलबार गरिएको पीसीआर परीक्षणका क्रममा रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना निगेटिभ नआए पनि स्वास्थ्य अवस्था सामान्य भएका कारण चिकित्सकको सल्लाहअनुसार उनलाई घर लगिएको हो।
उनलाई अहिलेपनि खोकी रहेको र घाँटी दुखेको पौडेलले बताइन्। अब चिकित्सकसँगको परामर्समा उनले घरमै स्वास्थ्यलाभ गर्नेछन्।
महामन्त्री सिंह वैशाख २९ गते ह्याम्स अस्पताल भर्ना भएका थिए। सुगर र थाइराइडबाट पीडित ८६ वर्षीय सिंहलाई वैशाख २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
Shares

प्रतिक्रिया