राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि विपक्षी गठबन्धनसँग मिलेर एमालेकै उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता भइसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच मिलेर अघि बढ्ने सहमति भएको छ।
बागमती प्रदेशअन्तर्गत यही जेठ ६ गते हुने उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् भने कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै नेपाल पक्षसमेत विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता भइसकेको छ।
तर अहिले एमालेका दुई पक्षबीच सहमति भएको अवस्थामा त्यो उम्मेदवारी के होला त?
उम्मेदवार डा. देवकोटा स्वयंले भने आफ्नो उम्मेदवारी यथावत् रहने बताएका छन्।
आफू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायतका दलको समर्थनमा उम्मेदवार बनेकाले त्यसमा पुनःविचार हुनै नसक्ने जिकिर देवकोटाले गरेका छन्।
‘वैशाख ३० गते भएको राजनीतिक घटनाक्रमपछि मेरा आदरणीय अभिभावक, शुभचिन्तक एवं मतदाताज्यूहरूले मेरो उम्मेदवारीप्रति जिज्ञासा राख्नु स्वाभाविक नै हो। मुलुकको राजनीतिक स्थिरता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणलगायतका लागि राजनीतिक दलहरू विभाजित हुनु हुँदैन,’ नेता देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत अन्य दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको स्थितिमा यसमा पुर्नविचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो।’
आफू निष्ठा र इमान्दारिताको राजनीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आफूप्रति विश्वास गरेका राजनीतिक दललाई धोका दिन नसक्ने बताएका छन्। साथै आफूलाई भोट हाल्न सबै मतदातालाई अनुरोध पनि गरेका छन्।
‘नेकपा एमालेका नेता/कार्यकर्तालगायत सबै राजनीतिक दलहरूले मप्रति पूर्ण विश्वास र सदभाव राख्नुभएको अवस्थामा मेरो उम्मेदवारीप्रति म प्रतिबद्ध छु, उनले भनेका छन्, ‘तर्सथ सबै मतदाताहरूमा उत्साहका साथ चुनावमा सहभागी भई मेरो चुनाव चिह्न कलममा मतदान गर्नु हुन सादर अनुरोध गर्दछु।’

प्रतिक्रिया