राजनीति


नाै स्थानमा अस्थायी अस्पताल बनाउन सेनाको प्रस्ताव

नाै स्थानमा अस्थायी अस्पताल बनाउन सेनाको प्रस्ताव

उजिर कार्की
बैशाख २६, २०७८ आइतबार ७:१०,

नेपाली सेनाले नाै स्थानमा अस्थायी अस्पताल बनाउन सरकारलाई प्रस्ताव गरेको छ। हरेक स्थानमा अस्थायी अस्पतालसहित, आइसोलेसन र होल्डिङ सेन्टर तयार गर्न सेनाले प्रस्ताव गरेको हो।

सीमानाकामा आठ र उपत्यकामा एउटा बहुउद्देश्यीय संरचना बनाउन सेनाले प्रस्ताव गरेको हो। स्थानको बारेमा सरकारले स्वीकृति दिइसकेको छ। तर सरकारले ती स्थानमा होल्डिङ सेन्टर मात्रै तयार गर्न भनेको थियो।

उपत्यकाबाहिर कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया, पर्साको वीरगन्ज, मोरङको रानी र झापाको काकडभिट्टामा सेनाले संरचना तयार गर्ने भएको हो।

NepalArmy Corona holdingcenter 2

सरकारले स्वीकृति दिए सेनाले अस्पताल सहितको संरचना तयार गर्ने र सो प्रस्ताव स्वीकृत नभए होल्डिङ सेन्टर मात्रै बनाउने छ।

संक्रमण बढ्दै गएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अस्पताल समेत रहने गरी संरचना बनाउन डिजाइन तयार गरेर सरकारलाई प्रस्ताव गरेको छ।

त्यसका लागि आर्थिक लागत पनि तयार गरिरहेको र प्रस्ताव स्वीकृत भए अर्थमन्त्रालयमा बजेट प्रस्ताव गर्ने तयारी सेनाले गरेको जंगी अड्डा स्रोतले जनाएको छ।

सरकारले एक हजार क्षमताको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन दिएको बताएको थियो।

सेनाले त्यसका लागि छुट्टै नभई यिनै स्थानमा अस्पतालको समेत सुविधा हुँदा राम्रो हुने निस्कर्ष निकालेको छ।

NepalArmy Corona holdingcenter 1

हरेक स्थानमा होल्डिङ सेन्टर, आइसोलेसन र अस्पतालका लागि छुट्टा छुट्टै ब्लकमा संरचना बनाउने सेनाको डिजाइन छ। हरेक स्थानमा अक्सिजनसहितका १ सय बेड राख्ने प्रस्ताव छ।

‘संक्रमण अझै केही समय बढ्ने हाम्रो आकलन हो,’ उच्च सैन्य स्रोतले भन्यो, ‘जहाँ जस्तो सुविधा आवश्यक पर्छ त्यही अनुसारले प्रयोग गर्न मिल्ने गरी संरचना तयार गर्दा राम्रो हुन्छ भनेर हामीले प्रस्ताव गरेका छौं। स्वीकृति पाउनासाथ काम अगाडी बढ्छ।’

यी संरचना बनाउनका लागि सेनाले जग्गा समेत हेरेको छ। जग्गा प्राप्तिका लागि कोरोना संकट व्यवस्थापन जिल्ला समिति (डीसीसीएमसी)सँग समन्वय गरिरहेका छ।

‘जग्गा प्राप्तिका लागि पनि सबै स्थानमा समन्वय भइरहेको छ। डीसीसीएमसीले ठाउँहरु खोजि गरिरहेका छन्। यता प्रस्ताव पारित हुनासाथ त्यो पनि टुंगो लाग्छ,’ ती अधिकारीले भने।

यी संरचनामा सेनाले नै उपचार लगायतको व्यवस्था गर्ने छ।

NepalArmy vaccine 2

यहि सन्दर्भमा अवकास प्राप्त सैन्य स्वास्थ्यकर्मीहरु फर्काउनका लागि सेनाले सरकारको निर्देशन पर्खिरहेको छ। आन्तरिक रुपमा भने सेनाले पछिल्लो ५ वर्षयता अवकास भएका सेनाका स्वास्थ्यकर्मीलाई फर्काउने निर्णय गरिसकेको छ।

उनीहरुलाई अहिले तयारी अवस्थामा रहन र जुनसुकै बेला फर्कन निर्देशन दिइने भएकाले तयारी अवस्थामा रहन भनेको छ। पछिल्लो ५ वर्षमा सेनाका ३ सय २० स्वास्थ्यकर्मीले अवकास पाएका छन्।

यीबाहेक आफ्ना अस्पताल पनि सर्वसाधारणका लागि खुल्ला गर्ने सेनाको तयारी छ। कोरोना संक्रमण बढेसँगै सेनाले आफ्ना ६ अस्पतालमा थप बेड तयार गरेको छ।

वीरेन्द्र सैनिक अस्पताल, पोखरा, नेपालगन्ज र इटहरीस्थित क्षेत्रीय अस्पताल, धनगढी र बर्दिवासका अस्पतालमा सेनाले कोरोना संक्रमितको उपचार गर्ने गरी बेड तयार गरेको छ। यी अस्पतालमा १ हजार संक्रमितलाई उपचार गर्न सकिने सेनाले जनाएको छ।

वर्दिवास र धनगढीमा १–१ सय र अन्य अस्पतालमा २–२ सयका दरले बेड थप गरिएको छ।

यो पनिः

बन्द नवज्योति अक्सिजन प्लान्ट सेनाले सञ्चालन गर्दै, दैनिक १२ सय सिलिन्डर उत्पादन

म्यान्मारबाट आएकालाई विमानस्थलबाट यसरी पुर्‍याइयो होल्डिङ सेन्टर (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .