प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विश्वासको मत’ लिने मिति (वैशाख २७) नजिकिँदै गर्दा प्रधानमन्त्री ओली तथा विपक्षी नेताहरूले राजनीतिक गतिविधि तीव्र पारेका छन्।
प्रधानमन्त्री ओलीले आज (शनिबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् भने नेपाली कांग्रेसले संसदीय दलको बैठक राख्दैछ।
मन्त्रिपषिदको नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले आजै साँझ आकस्मिक बैठक राख्ने भएका हुन्।
प्रधानमन्त्री ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले नेपालखबरलाई जानकारी दिए।
कांग्रेस संसदीय दलको बैठक दिउँसो २ बजे
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा असफल पार्ने तयारीमा रहेको कांग्रेसले त्यसपछिको अवस्थामा कसरी वैकल्पिक सरकार बनाउने भन्ने विषयमा छलफल गर्न लागेको हो।
वैकल्पिक सरकारका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्ने भएकोले कांग्रेसको संसदीय दलको बैठकबाट यसबारे निर्णय हुने सम्भावना छ।
हिजो कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यस विषयमा छलफल भएको थियो।
उता एमालेका नेता भीम रावलले पनि हिजै देउवासँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीको दौडधुप
विपक्षी दलले अविश्वाको मत पेस गर्नु तथा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख १९ गते मन्त्रिपरिषद बैठक राखेर विश्वासको मत लिने निर्णय गर्दै त्यसका लागि यही वैशाख २७ गते दिउँसो १ बजे बस्ने गरी राष्ट्रिपतिबाट प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गराइसकेका छन्।
त्यसपछि नेकपा माओवादी केन्द्रले गत बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओली अल्पमतमा परिसकेका छन् भने उनले त्यही दिनदेखि आफ्ना पक्षमा मत जुटाउन दौडधुप सुरु गरिसकेका छन्।
त्यस दिन उनी दलबलसहित कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास (बूढानीलकण्ठ) पुगे भने यता एमालेकै असन्तुष्ट पक्ष माधव नेपाल पक्षलाई फकाउने प्रयास जारी राखेका छन्।
तर अहिलेसम्म सहमतिको सम्भावना देखिएको छैन।
यहीबीच आफूले विश्वासको मत लिनु अघिल्लो दिन वैशाख २६ गतेका लागि उनले संवैधानिक परिषदको बैठक बोलाएका छन् भने आज आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका हुन्।

प्रतिक्रिया