राष्ट्रिय सभा उपचुनावका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकै आइसक्दा पनि उम्मेदवार टुंगो लगाउन नसकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरू अहिले छलफलमा जुटेका छन्।
बागमती प्रदेशअन्तर्गत लड्नुपर्ने चुनावका लागि उम्मेदवार तयका लागि निर्णय गर्न प्रधानमन्त्री ओलीले एमाले स्थायी कमिटीका नेताहरूलाई प्रधानमन्त्रीको निवास (बालुवाटर) मा भेला गराएका हुन्।
बैठकले उम्मेदवार चाँडै छनोट गर्ने एमालेका एक नेताले बताएका छन्।
एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गरेका कारण गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएका छन्। यसैकारण रिक्त रहेको स्थानमा सदस्य चयन गर्न जेठ ६ गते उपनिर्वाचन गर्न लागिएको हो।
त्यसका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको समय खुला भइसकेको छ। अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
तर एमालेले यो समाचार लेख्दासम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमालेले माओवादी केन्द्रबाट आफ्नो पार्टीमा आएका गृहमन्त्री बादललाई नै उम्मेदवार बनाउने चर्चा चले पनि स्वयं बादल भने चुनाव हार्ने डरले अनिच्छुक देखिएको स्रोतले जनाएको छ।
उता विपक्षी गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपा) बाट साझा उम्मेदवार डा. खिमलाल देवकोटा भने उम्मेदवारी दर्ताका लागि हेटौंडा पुगिसकेका छन्।
‘मनोनयनका लागि हटौंडा आइपुगेको छु। सामाजिक सञ्जालयलगायत सञ्चारका विभिन्न माध्यमबाट यहाँहरूले दर्शाउनुभएको सदभावका लागि निकै नै आभारी छु,’ देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँहरूको सहयोग र शुभेच्छा अन्तिम परिणाम प्राप्त नहुन्जेलसम्म कायम रहने अपेक्षासमेत गर्दछु।’
यो पनि : राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज, बन्लान् बादल उम्मेदवार?

प्रतिक्रिया