राजनीति


लुम्बिनी प्रदेशका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १०:७,

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलका उपस्थितिमा शपथ गराएका हुन्।

मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रिपरिषदमा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए। पुनर्गठित मन्त्रिपरिषदमा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो।

शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन्। नवगठित मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित नौ मन्त्री र एक राज्यमन्त्री छन्।

लगानी सम्मेलन कात्तिकमा
मन्त्रिपरिषद्को आजै बसेको बैठकले आगामी जेठ ६ र ७ गतेका लागि आयोजना गरिएको प्रदेश लगानी सम्मेलनको मिति पुनः सार्ने निर्णय गरेको छ।

यसअघि अघिल्लो वर्ष आयोजना गर्ने भनिएको लगानी सम्मेलन कोरोना संक्रमण महामारीका कारण स्थगन गरिएको थियो। स्थगित लगानी सम्मेलन आगामी कात्तिक २७ र २८ गतेका लागि तोकिएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए।

सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोभिड महामारी रोकथामका विभिन्न कार्यका लागि खर्च गर्ने गरी प्रदेशका १२ वटै जिल्लामा रु ७९ लाख बजेट पठाउने निर्णय पनि गरिएको आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले जानकारी दिए।

उनका अनुसार बजेट जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको छ। रुपन्देही र बाँके जिल्लाका लागि रु १०–१० लाख, कपिलवस्तुलाई रु आठ लाख, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), दाङ र बर्दियाका लागि रु सात लाखका दरले रु २१ लाख तथा रुकुम (पूर्व), रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पाका लागि रु पाँच लाखका दरले पठाउने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad