उपत्यकामा निषेधाज्ञा थप गरिने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप कडाइ गर्ने र फेरि एक साता निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको हो।
मंगलबार फेरि बैठक बसेर यसबारे निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए।
यसअघि उपत्यकामा प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा एकसाताका लागि निषेधाज्ञा गरेका थिए।
तर सरकारले भने उपत्यकामा वैशाख मसान्तसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारीहरुले त्यसअघि नै एकसाताका लागि निषेधाज्ञा जारी गरेकाले फेरि त्यसलाई परिमार्जन गर्दै लम्ब्याउन लागेका हुन्।
‘अहिले सरकारी कार्यालयहरु सञ्चालनमा छन्, बैंक तथा वित्तीय संस्था पनि सञ्चालनमा छन्, यसकारण पनि भीडभाड अपेक्षाअनुसार घटेको छैन, अब यसलाई कम गर्ने गरी निषेधाज्ञा थप हुन्छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘भोलि फेरि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर यसलाई टुंगो लगाउँछौं।’
प्रमुख जिल्ला अधिकारीले छलफलमा हालको प्रावधानले चाहेजति सवारीको चाप कम नगरेको निस्कर्ष निकालेका छन्।
अत्यावश्यक कार्यालय तथा सेवाका सवारी पनि कसरी कम गर्न सकिन्छ भन्नेबारे विश्लेषण भइरहेको उनले बताए।
बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले नै थप कडाइ गर्ने तयारी गरेको छ।
मन्त्रीपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन हुने गरी थप व्यवस्था गर्न लागिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।
‘भीडभाड पनि कम गर्ने, उल्लंघन नहुने र सर्वसाधारणले पनि दुःख नपाउने गरी निर्णय गर्न खोजिरहेका छौं। हामी छलफलकै क्रममा छौं, भोलि सायद टुंगोमा पुग्छौं’, प्रजिअ निरौलाले भने। अहिले पूरै लकडाउन गर्ने विषयमा भने छलफल नभएको उनले बताए।
सवारी पासमा र हिंडडुलमा पनि कडाइ गर्ने तयारी प्रमुख जिल्ला अधिकारीको छ।
प्रधानमन्त्री ओलीले पनि सोमबार सम्बोधनका क्रममा निषेधाज्ञालाई थप कडाइ गर्ने घोषणा गरेका छन्।
सरकारले हवाई उडान पनि बन्द गर्ने निर्णय गरिसकेकाले थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई सहज भएको हो।
उपत्यकामा १६ गते बिहानदेखि निषेधाज्ञा जारी छ। कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा थप कडा र लम्बिने देखिएको छ।

प्रतिक्रिया