राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्यामा उपस्थिती हुन नसकेकै कारण हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापित हुन नसकेको बताएका छन्।
अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढिसकेको भन्दै उनले त्यसतर्फ केन्द्रित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले परम्परागत संस्कृति मासेर आएका पार्टीहरु र धर्म, संस्कृति, परम्परा मान्ने दुई समूहबीच नै प्रतिष्पर्धा हुने भएकोले जनताको घरदैलोमा पार्टीको एजेण्डा पु¥याउन सके राप्रपा अग्रणी हुनेमा आफु विश्वस्त रहेको बताए। यसको लागि पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर कार्य प्रारम्भ गरिसकेको बताए।
सो कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङ, महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्का, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुष लगायतले बोलेका थिए।
भेलाले मोहन कार्कीको अध्यक्षतामा दोलखा–काठमाडौं सम्पर्क समाजको गठन गरेको छ।

प्रतिक्रिया