प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गर्ने रस्साकसी चलिरहेका बेला गुरुङले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्।
उनले प्रदेश सांसद राजीव गुरूङ (दीपक मनाङे) लाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेका अनुसार उनको आजै प्रदेश नीति तथा योजना आयोगको सभा हलमा शपथ हुने कार्यक्रम तय भइसकेको छ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।
प्रस्तावमा राष्ट्रिय जनमोर्चाको समर्थन छ।
प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला जनमोर्चाका सांसद खिमविक्रम शाही बुधबार बिनाजानकारी सदनमा अनुपस्थित भएपछि प्रदेश राजनीतिले नयाँ मोड लिएको छ।
शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि जनमोर्चाकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही रोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेकी थिइन्।
त्यसपछि प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित भएको थियो।
उक्त दिन मनाङे पनि संसदमा अनुपस्थित भएका थिए।
मोवाइलसमेत अफ गरेर बसेका उनी केहि ढिला गरी प्रदेश सभामा पुगेका थिए।
मनाङबाट स्वतन्त्र उम्मेदवारको रुपमा उठे पनि उनलाई आफ्नो उम्मेदवार फिर्ता गराएर एमालेले निर्वाचनमै साथ दिएको थियो।

प्रतिक्रिया