अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलोपटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए।
कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए।
उनले भने, “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ। हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं।”
राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा सफल उपलब्धि हासिल भएको बताए।
उनले अहिलको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताए।
राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यकालमा पुगेको क्षतिलाई उल्ट्याएर अन्तर्राष्ट्रिय साझेदारीलाई आफ्नो विदेश नीतिले पुनः सम्बोधन गर्न लागेको पनि बताए।
उहाँले ट्रम्पका एकलकाँटे नीतिको आलोचना गर्दै कङ्ग्रेसमा भने, “कुनै पनि मुलुक एक्लै सफल हुन सक्दैन।”
चीनबारे आक्रामक बाइडेन
चीनका सम्बन्धमा राष्ट्रपति बाइडेनले बेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए पनि आफूहरुले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर कुनै किसिमको द्वन्द्व नचाहेको स्पष्ट पारे।
आफ्नो सम्बोधनको क्रममा अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई बाइडेनले शताब्दीकै लडाइँको रुपमा व्याख्या गरे।
अमेरिका र चीनबीच यो शताब्दीभर प्रविधिको विषयमा प्रतिस्पर्धा चल्ने उनको भनाइ छ। साथै उनले चीनलाई निरंकुश राष्ट्रको रुपमा व्याख्या गरे।
तर यो शताब्दीमा लोकतन्त्रको जित हुने बाइडेनको भनाइ छ।
‘चिनियाँ राष्ट्रपति र अन्य निरंकुशवादी सोच्छन कि लोकतन्त्रले २१ औं शताब्दीमा निरंकुशतन्त्रलाई जित्दैन’ बाइडेनले भने,‘भविष्यमा यो प्रतिस्पर्धालाई जित्न मेरो विचारमा हामीले हाम्रा परिवार र बालबालिकाको लागि एक पुस्तालाई पुग्ने लगानी गर्नुपर्छ।’
उनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि भन्दै अमेरिकी परिवार तथा शिक्षाको लागि १.८ ट्रिलियन अमेरिकी डलर प्याकेजको समेत घोषणा गरे।
अमेरिकाले आफ्नो जग निकै बलियो बनाउनुपर्ने उनको भनाइ छ। एएफपी र एससीएमपीकाे सहयाेगमा
Shares

प्रतिक्रिया