नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएको सामाजिक दूरीको नियम उल्लंघन गरेको भनी त्यहाँको प्रहरीले कारबाही गरेको छ।
आफ्नो जन्मदिन मनाउन गरिएको पारिवारिक जमघटमा सामाजिक दूरीको नियमपालना नगरेको भनी प्रधानमन्त्री सोलवर्गलाई प्रहरीले २० हजार नर्वेजियन क्राउन अर्थात् २ हजार ३ सय ५२ डलर जरिबाना गरेको त्यहाँका प्रहरी प्रमुख ओले स्याभेरुदले बताए।
उनले गत फेब्रुअरीको अन्त्यतिर एउटा माउन्टेन रिसोर्टमा १३ जना पारिवारिक सदस्यबीच आफ्नो ६०औं जन्मदिन मनाएकी थिइन्। तर, त्यतिबेला उनको सरकारले कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढि मानिस भेला हुन निषेध गरेको थियो।
दोस्रोपटक प्रधानमन्त्री बनेकी उनले आफूबाट सो नियम उल्लंघन हुन गएकोमा सार्वजनिक रुपमै माफी पनि मागेकी थिइन्।
प्रहरीले त्यस्ता सबै घट्नामा जरिबाना गर्ने नगरेको भए पनि प्रधानमन्त्री त यस्ता नियम लागु गर्न सबैभन्दा अग्रपंक्तिमा हुनुपर्ने भएकोले सो निर्णय गरिएको प्रहरीले बताएको छ।
‘कानून त सबैका लागि एउटै हो, तर कानूनको अघि सबै बराबर हुँदैनन,’ कारबाही गर्ने निर्णयको प्रतिरक्षा गर्दै स्याभेरुदले भने।

प्रतिक्रिया