उपप्रधानमन्त्री ईश्वर पोख्रेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न आव्हान गरेका छन्।
काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दे उनले पछिल्लो समय देखा परेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।
स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधैँ राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दे जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उनले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिँदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताए। उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिइकन ‘सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको’ भन्दै व्यंग्य गरे।
उनले भने, ‘जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ। सपना नदेख्नु पनि राम्रो होइन। तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो। आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन्। तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो। उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो। धावा बोल्नुभयो। राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ। अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु , विसंगतिहरु चुलिएका छन्। तर निरास हुनुहुँदैन। त्यसको विरुद्धमा उभिनुपर्छ।’
उनले राजनीतिक दलका अगुवाहरुमा विकसित हुदै गएको व्यक्ति केन्द्रित स्वार्थ देखेर आफूलाई लज्जाबोध हुने गरेको बताए। उनले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे।
उनले भने, ‘राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ। हामीले पाएनौ, मैले पाइनँ, पाउनुपर्ने। नेतृत्व पंक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ। यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ।’
उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुःख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए।
उनले स्वर्गीय रिमाललाई आफुले क्रान्ति आमन्त्रण गर्ने एउटा स्वप्नदर्शी व्यक्ति र आधुनिक प्रर्वतकको रुपमा चिनेको बताए। आफ्ना रचनाका कारण अहिले पनि कालजयी विचारमा बाँचिरहेको उल्लेख गर्दै उनले रिमालको सामाजिक, शैक्षिक, साहित्यिक जागरणमा पुर्याएको योगदानको चर्चा गरे।
कार्यक्रममा स्वर्गीय रिमालकी पत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो। वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित पुस्तक ‘गोपालप्रसाद रिमाल’ पत्रकार गोविन्द प्रसाद दुलालले लेखेका हुन्।

प्रतिक्रिया