नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ।
शनिबार दिउँसो साढे ३ बजेबाट काठमाडौँको कलंकीस्थित मेगा पार्टी प्यालेसमा स्थायी समिति बैठक सुरु भएको एक नेताले जानकारी दिए।
आजको बैठकबाट संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत कार्यक्रम समेटेर राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको भए पनि अन्तिम समयमा आएर अभियान घोषणा कार्यक्रम रोकिएको छ।
नेता सुरेन्द्र पाण्डे उपत्यका बाहिर भएका कारण कारण राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिने र संगठन सुदृढीकरण अभियान घोषणा दुवै कार्यक्रम आज नहुने भएको ती नेताले जानकारी दिए।
‘बैठक अहिले कलंकीस्थित मेगा पार्टी प्यालेसमा जारी छ’, ती नेताले भने, ‘नेता सुरेन्द्र पाण्डे पार्टी कामको सिलसिलामा उपत्यकाबाहिर भएका कारण आजको बैठकमा अभियान घोषणा र प्रतिवेदनको टुंगो दुवै नहुने भएको हो।’ उनले यसका लागि भोलि फेरि बैठक बस्ने जानकारी दिए।
शुक्रबार बसेको बैठकमा यही चैत ४ र ५ गतेको राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्समाथि आएका सुझाबसहित छलफल भएको थियो। उक्त प्रतिवेदनलाई आज अन्तिम रुप दिने र त्यसपछि प्रकाशन गरेर कार्यकर्ताहरुमाझ वितरण गर्ने नेपाल–खनाल समूहले निर्णय गरेको थियो।
त्यस्तै हिजोको बैठकले संगठन सुदृढीकरणका लागि राष्ट्रिय अभियान घोषणाका लागि केही प्रस्तावहरु पेश भएको र आजको बैठकमा थप छलफलपछि टुंगोमा पु¥याउने निर्णय भएको थियो।
अध्यक्ष ओलीले फागुन २८ को नेपाल–खनाल पक्षलाई खबरै नगरी बैठक राखेर नेताहरुको जिम्मेवारी खोस्ने, महाधिवेशनको मिति घोषणा गर्ने केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ। नेपाल–खनाल पक्षले ओलीले पार्टीको विधानविपरीत निर्णय गरेको आरोप लगाउँदै आएको छ।
यहीबीचमा अध्यक्ष ओलीले पार्टी र नेतृत्वविरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गरेका छन्।
ओली एकलौटी रुपमा चल्न थालेको भन्दै नेपाल–खनाल पक्ष सँगै जान नसकिने निष्कर्षसहित समानान्तर पार्टी सञ्चालनको तयारी गरिरहेको छ। केही जिल्ला र जनवर्गीय संगठनमा उक्त समूहले समानान्तर समिति समेत गठन गरेको छ।
Shares

प्रतिक्रिया