नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक सूरु भएको छ।
शुक्रबार मध्यान्ह १२ बजेबाट कलंकीस्थित मेघा पार्टी प्यालेसमा स्थायी समितिको बैठक सुरु भएको एक नेताले जानकारी दिए।
पार्टीभित्रको विवाद, आफ्नो पक्षका चार नेताहरुमाथिको कारबाही र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने ती नेताले बताए।
‘प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा निर्णय गरेर अगाडि बढ्न थालेपछि अब कसरी जाने भन्ने विषयमा रणनीति बनाउन बैठक बसेको हो’, नेपालखबरसँग ती नेताले भने, ‘वरिष्ठ नेता नेपालसहितका चार नेतामाथिको कारबाही र अब कसरी अगाडि बढ्ने भन्ने विषमा पनि बैठकमा छलफल हुन्छ।’
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे र उपमहासचिव घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका छन्।
अध्यक्ष ओलीले फागुन २८ को नेपाल–खनाल पक्षलाई खबरै नगरी बैठक राखेर नेताहरुको जिम्मेवारी खोस्ने, महाधिवेशनको मिति घोषणा गर्ने केन्द्रीय सदस्य थप्ने लगायतका निर्णय गरेपछि एमाले विभाजनको संघारमा पुगेको छ। नेपाल–खनाल पक्षले ओलीले पार्टीको विधानविपरीत निर्णय गरेको आरोप लगाउँदै आएको छ।
ओली एकलौटी रुपमा चल्न थालेको भन्दै नेपाल–खनाल पक्ष सँगै जान नसकिने निष्कर्षसहित समानान्तर पार्टी सञ्चालनको तथयारी गरिरहेको छ। केही जिल्ला र जनवर्गीय संगठनमा उक्त समूहले समानान्तर समिति समेत गठन गरेको छ।
आजको बैठकमा सोही विषयमा पनि छलफल हुने ती नेताले बताए।

प्रतिक्रिया