राजनीति


प्रचण्डको पुनरवलोकन निवेदन अस्वीकृत भएपछि रमाए गोकुल बास्कोटा र सूर्य थापा

प्रचण्डको पुनरवलोकन निवेदन अस्वीकृत भएपछि रमाए गोकुल बास्कोटा र सूर्य थापा

नेपालखबर
चैत १९, २०७७ बिहिबार ११:९,

एमाले र माओवादी केन्द्रको एकता भंग गर्दै नेकपा खारेजको फैसला पुनरवलोकनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकृत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताले खुसी प्रकट गर्न थालेका छन्।

यसै क्रममा एमालेमा अध्यक्ष ओलीका अत्यन्त नजिकका नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतको निर्णयप्रति खुसी हुँदै निवेदकविरुद्ध कटाक्ष गरेका हुन्।

नेता बास्कोटाले त प्रचण्डसँगै माधवकुमार नेपाललाई पनि जोडेर व्यंय गरेका छन्।

लेखेका छन्, ‘भैगो ल, एकछिन कमरेड माधवकै कुरा मानिदिऊँ केपी ओलीले गुट चलाएकै हुन् रे। अनि प्रचण्डको छुट्टै गुट छँदै थियो। आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान् पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊँ भन्दै मुद्दा हाल्न जाने? लौ न, निर्णय पाऊँ।’

gokhu

उता प्रचण्डका कट्टर आलोचक एमालेका केन्द्रीय सदस्य थापाले त खुचिङ नै बजाएका छन्।

प्रचण्डको भावुक तस्बिरसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतको फैसला। लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरवलोकनको रोइलो अब सकिएको छ। निवेदक महोदयप्रति सहानुभूतिचाहिँ छ– सम्हालिनुहोस् र राजनीति गर्नुहोस! राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदोरहेछ ! आफैंले भाँड्न चाहेको एकता कति प्यारो?’

sutwi

थापाले ट्विटरमा राखेको प्रचण्डको यो भावविह्वल तस्बिर छोरा प्रकाश दाहाल निधन हुँदाको हो। २०७४ मंसिरमा प्रकाशलाई श्रद्धाञ्जलि दिन पार्टी कार्यालयमा आयोजित शोक सभाका बेला सञ्चारमाध्यमले उक्त तस्बिर खिचेका थिए।

निर्वाचन आयोगमा आफूले पहिले दर्ता गरेको नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वाेच्च अदालतले गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर पछि दर्ता नेकपा खारेज गरिदिएको थियो।

त्यसप्रति असन्तुष्ट हुँदै तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं र हाल पुनर्स्थापित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरवलोकन माग गर्दै यही चैत १७ गते सर्वाेच्च अदालतमा निवेदन दिएका थिए। तर प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको पूर्ण इजलासले आज पहिलेकै फैसला सदर गर्दै पुनरवलोकन गर्न नमिल्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad