नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
होली खेल्ने क्रममा अमानवीय र अत्यन्तै निन्दनीय घटना भएको भन्द्र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन्।
बागलुङको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार दुई पक्षबीचको झडपमा दुई जनाको मृत्यु भएको थियो।
प्रवक्ता शर्माले भनेका छन्, ‘होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ।’
घटनामा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको थियो।
प्रवक्ता शर्माका अनुसार मृतक दुईमध्ये कुँवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन्।
‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ’, शर्माले विज्ञप्तिमा भनेका छन्, ‘प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ।’
घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसँग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेलसहित पार्टीको टिम सोमबार घटनास्थल पुग्ने उनले बताए।

Shares

प्रतिक्रिया