नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको पत्र लिएर सो समूहका तीन सांसद प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
बालुवाटारमा संसदीय दलको बैठक चलिरहेकै बेला नेपाल–खनाल पक्षका सांसदहरु सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ आफूहरु बैठकमा नआउनुको कारणबारे लेखेको पत्र लिएर बालुवाटार गएका हुन्।
नेपाल–खनाल पक्षका सांसद गणेश पहाडीले आफ्नो समूहका सांसदको हस्ताक्षरसहितको पत्र लिएर तीन सांसद बालुवाटार गएको बताए।
उनले पत्रमा संसदीय बोर्डको गठन विधान सम्मत् नभएको भन्दै रोक्न माग गरिएको बताए। उनले सहमति नभएसम्म अन्य प्रक्रिया अगाडि नबढाउन समेत पत्रमा आग्रह गरिएको बताए।
‘हाम्रो समूहको सांस्दहरुको हस्ताक्षरसहित तीन जना साथीहरु बालुवाटार जानुभएको छ’, उनले नेपालखबरसँग भने, ‘हामीले संसदीय बोर्ड लगायतका प्रक्रिया रोक्न अनुरोध गरेका छौँ।’
उनले आफूहरुले संसदीय दलको बैठकमा सहभागी हुन्नौँ नभनेको भन्दै त्यसका लागि सहमतिको वातावरण बनाउनुपर्ने बताए।
प्रतिक्रिया