राजनीति


देश चुनावमा गयो, अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार : गगन थापा

देश चुनावमा गयो, अब कांग्रेसको नेतृत्वमा चुनावी सरकार : गगन थापा

वाशुदेव मिश्र
चैत ६, २०७७ शुक्रबार ८:५६,

नेपाली कांग्रेसका नेता गगन थापाले पुनःस्थापित संसदको आयू २ वर्ष बाँकी भए पनि देश चुनावमा गइसकेको दावी गरेका छन्।

उनले निष्पक्ष अनि समयमा चुनाव निश्चित गराउन नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने पनि बताएका छन्।

‘अब देश चुनावमा गयो। हामी चुनावलाई समयमा निश्चित र निष्पक्ष बनाउनको लागि हाम्रो नेतृत्वमा गराउने प्रयास गर्दैछौँ सफल हुन्छौँ, हुँदैनौँ थाहा छैन तर देश चुनावमा गयो’, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै भने, ‘अब देश चुनावमा गयो भन्ने ठानेर चुनावको तयारी गर्नु आवश्यक छ।’

उनले केपी ओली नेतृत्वको सरकारले निष्पक्ष र स्वतन्त्र ढंगले चुनाव गराउन नसक्ने भएकाले नै कांग्रेसले सरकार बनाउन पहल थाल्नुपर्ने बताए।

‘केपी ओली नेतृत्वको सरकारबाट निष्पक्ष चुनाव सम्भव छैन। यत्तिको अनुदार, असहिष्णु निरंकुश, सर्वसत्तावादी सोच भएको प्रधानमन्त्रीले निष्पक्ष चुनाव गराउँदै गराउँदैन’, निर्वाचन आयोग, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, अड्डा अदालत कसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार रहँदै गर्दा निष्पक्ष काम गर्ने हैसियत राख्नै सक्दैन। यो प्रमाणित भइसक्यो’,उनले भने, ‘अब कांग्रेसले लोलोपोतो गर्नुपर्छ भन्ने अब लाग्दैन। अब केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने, हाम्रो अग्रसरतामा सरकार बनाउने भनेर निर्णय गर्ने हो।’

उनले अब कांग्रेसले नयाँ सरकार बनाउनको लागि जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग वार्ता थाल्नुपर्नेमा पनि जोड दिए। उनले जनता समाजवादी पार्टी र माओवादी केन्द्रलाई पनि आफ्नो कित्ता प्रष्ट पार्न चुनौति दिए।

‘जनता समाजवादी पार्टीले पनि अल्झाउने काम गर्ने हैन, कांग्रेसलाई समर्थन दिने भए दिने भन्नुहोस्, केपी ओलीसँग टाँस्सिने भए टाँस्सिने भन्नुहोस्, केही फरक पर्दैन’,उनले भने, माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने भए लिने भन्नुहोस्, हामीलाई समर्थन गर्ने भए गर्ने भन्नुहोस्, नगर्ने भए नगर्ने भन्नुहोस।’

उनले नेपाली कांग्रेसको चाहना देशलाई प्रधानमन्त्री ओलीको अधिनायवादी शैलीबाट मुक्त गराउनु मात्र रहेको र कांग्रेस नेतृत्वको सरकार २ वर्षसम्मको लागि नहुने पनि प्रष्ट पारे।

उनले भने, ‘यो सरकार बनाएर फेरि २ वर्ष चलाउँला, यो गरौँला, त्यो गरौँला भन्ने हैन। प्रधानमन्त्री ओलीले बिगारेका काम सच्याउने, सुशासन दिने, कोभिडबाट थला परेको अर्थतन्त्रलाई माथि उकास्ने हो, संविधानमा बनेका भ्वाङ टाल्ने हो र देशलाई चुनावमा लिएर जाने हो। निश्पक्ष चुनाव गराउने हो।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेन भने केही गर्न नसकिने र जसपाले पनि कांग्रेसलाई समर्थन नदिए कांग्रेस एक्लैले केही नगर्ने जिकिर गरे। अघिल्लो चुनावमा कांग्रेसले प्रतिपक्षमै बस्ने म्याण्डेट पाएपनि नेकपा विघटन भएसँगै सरकार बनाउने अधिकार कांग्रेसमा पनि आएको उनको भनाई थियो।

‘सरकार बन्ने सन्दर्भमा जुन अधिकार एमालेलाई छ, कांग्रेसलाई पनि उत्तिकै अधिकार छ’ अहिले कांग्रेस नेतृत्वको सरकार बन्न नहुने पार्टीभित्रको मतलाई संकेत गर्दै उनले भने, ‘केपी ओली केही पार्टी मिलाएर सरकार बनाउन हेर्दै हुनुहुन्छ होला। केपी ओलीले फेरि सरकार चलाउनु भनेको सरकार नभएर ओलीतन्त्र चलाउनु हो। अहिले प्रधानमन्त्री संसदसँग बदला लिँदै हुनुहुन्छ। उनलाई नियन्त्रण गर्न र संसदलाई पंगु बनाउनबाट जोगाउन पनि कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ।’

उपनिर्वाचनबाट विजेताको पद खारेजी माग
नेता थापाले नेपाल कम्युनिष्ट पार्टीको नामबाट चुनाव लडेर विजयी भएका सांसदको पद खारेज गर्नुपर्ने माग गरेका छन्। उनले नेकपा नै नरहेपछि सांसद पद नरहने जिकिर पनि गरेका छन्।

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको प्रसंग झिक्दै उनले भने, ‘कास्कीमा आएर म अब सोध्न चाहन्छु, कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी उम्मेदवार कुन पार्टीको हो, एमालेको हो कि माओवादीको हो? उहाँहरुले भन्नुभएको छ, छान्न पाउनुपर्छ। अहँ, हिजो मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो। निर्वाचित जनप्रतिनिधिले छान्न पाउने हो भने, यहाँका जनताले पनि छान्न पाउनुपर्छ। नेपाल कम्युनिष्ट पार्टीको नाममा भएको निर्वाचनबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्नँ। त्यो त पार्टी नै छैन। उहाँहरुले छान्न पाउने, मतदाताले छान्न नपाउने?’

उनले अदालतले एमाले र माओवादी केन्द्र एकीरण अवैध भएको निर्णय गर्दा नै आफ्नो ब्रह्मले गलत ठानेकोले गलत नै भनेको र नेकपाबाट चुनिएका सांसद कुन पार्टीको हो भन्ने प्रश्न गरेको स्मरण गरे।

उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टी सकियो, कोही एमालेमा फर्कनुभयो, कोही माओवादीमा जानुभयो। कस्केली जनताले त नेकपालाई भोट दिएको हो, माओवादी र एमालेलाई दिएको हैन। हिजो केपी शर्मा ओली एमालेबाट र प्रचण्ड उपनिर्वाचनमा निर्वाचित हुनुभएका कास्की, दाङको सबै नेकपाबाट निर्वाचित भएको हो। पार्टी मरेपछि त्यसबाट निर्वाचित प्रतिनिधि रहँदैन। यो ठाउँको जनप्रतिनिधिलाई हामीले बिदा गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .