राजनीति


नेपाल–खनालले प्रचण्डको निर्देशनमा राष्ट्रिय भेला गर्न लागेको सूर्य थापाको आरोप

नेपाल–खनालले प्रचण्डको निर्देशनमा राष्ट्रिय भेला गर्न लागेको सूर्य थापाको आरोप

नेपालखबर
चैत ३, २०७७ मंगलबार ५:१,

नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनालले यही चैत ४ र ५ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम भन्दै १५ आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा ‘सहरमा विधि र पद्धतिको रमिता कि गाईजात्रा?’ शीर्षकमा लामो स्टाटस लेख्दै उनले खनाल–नेपाल पक्षले भेलामा आउन आह्वानका लागि तयार पारेको (डिजिटल) पर्चासमेत बिगारेका छन्। 

हेर्नुहोस् :

umlparcha

यस्तो छ, उनले लेखेको स्टाटसको पूर्ण पाठ :

सहरमा ‘विधि र पद्धति’को रमिता कि गाईजात्रा?

नेकपा (एमाले)को नाममा सानेपास्थित महँगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला-
१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !

२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाईजात्रा पनि भन्न सकिन्छ।

३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो।

४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेष प्रदर्शन मात्रै हो।

५. पार्टीको सरकार पाँच वर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो।

६. यो ‘विधि र पद्धति’को दुहाइ दिँदै गत वैशाख महिनायता जारी नांगो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साँठगाँठमा चल्दै आएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ। र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो। त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक स्थगन गरी पर्खिरहेको यथार्थ जगजाहेर नै छ।

७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निष्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्धको घात हो।

९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा, अनुशासनहीनता र अराजकता हो। कार्की बैंक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो।

१०. पार्टी पद्धति, मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो। फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरुपाय कोसिस हो। र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो।

११. चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्ध जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइल्याउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा सञ्चालन हुन नदिई अनुचित सम्झौताको बन्धक बनाउने कुत्सित प्रयास हो।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिँजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो।

१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरीतको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफूलाई सामेल नगरौं।

१५. त्यसैले आउनुहोस्,
विभाजन र विखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा (एमाले) र सूर्य चिह्नका पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौं !

अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !! 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad