जनता समाजवादी पार्टी (जसपा)ले नेपाली कांग्रेसलाई सत्तामा सहकार्य गरेर जाने प्रस्ताव गरेको छ।
शुक्रबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा जसपाका शीर्ष नेताहरुले सत्तामा मिलेर जाने प्रस्ताव राखेका हुन्।
देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताए।
‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
पत्रकारसँग कुरा गर्दै ठाकुरले कांग्रेससँग सबै विषय खुलस्त राखेको बताए।
‘जेलमा भएका नेता तथा कार्यकर्ता छोड्नुपर्ने, नागरिकतासम्बन्धी समस्या सामाधान गर्नुपर्ने पार्टीका कार्यकर्तामाथिका मुद्दा फिर्ता हुनुपर्ने लगायतका विषय राखेका छौं, उहाँहरुले सकारात्मकरुपमा लिनुभएको छ,’ ठाकुरले भने।
अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने ठाकुरले बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकमा सत्ता समीकरणको बहसले प्रवेश पाएको बताए।

प्रतिक्रिया