राजनीति


ओली समूहले पार्टी कार्यालयबाट धमाधम हटाउन थाल्यो नेकपाको बोर्ड

ओली समूहले पार्टी कार्यालयबाट धमाधम हटाउन थाल्यो नेकपाको बोर्ड

नेपालखबर
फागुन २४, २०७७ सोमबार ११:१८,

सर्वाेच्च अदालतले नेकपाको दर्ता बदर गर्दै पहिलेकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम रहेको फैसला गरेपछि देशका विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षले पार्टी कार्यालयका बोर्ड फेर्न थालेका छन्।

प्राप्त जानकारीअनुसार अहिलेसम्म मोरङ, नुवाकोट जिल्ला पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड टाँगिएका हुन्।

ऋषि कट्टेलको रिटअनुसार निर्वाचन आयोगमा पहिले दर्ता उनको नेकपालाई वैधानिकता दिँदै सर्वोच्च अदालतले आइतबार एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर हुने फैसला सुनाएपछि ओली पक्षको एमालेहरू उत्साहित भएका हुन्।

सोमबार नुवाकोटको विदुर नगरपालिका–४ स्थित जिल्ला पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर एमालेको राखिएको हो। प्रदेश सभा सांसद केशवराज पाण्डेको उपस्थितिमा कार्यक्रम गरी बोर्ड परिवर्तन गरिएको ओली पक्षका नेताले बताएका छन्।

उता विराटनगरस्थित मोरङ जिल्ला पार्टी कार्यालयमा पनि सोमबार संस्कृति पर्यटन नागरिक तथा उड्डयन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा दल पुरानै अवस्थामा फर्किएको भन्दै नेकपाको बोर्ड हटाएर एमालेको राखिएको छ। 

अहिले मोरङ, नुवाकोटलगायत जिल्लामा पार्टी कार्यालयको बोर्ड परिवर्तन गरिएका तस्बिर सामाजिक सञ्जालमा एकपछि अर्का सेयर भइरहेका छन्। 

‘विभिन्न जिल्लामा साइनबोर्ड परिवर्तन गरिएको जानकारी आएको छ। यो हामीले केन्द्रबाट निर्देशन दिएर गरिएको होइन, स्वःस्फूर्त रूपमा गरिएको हो,’ नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले नेपालखबरसँग भने, ‘केन्द्रीय कार्यालयको पनि दुई–चार दिनमा फेरिन्छ होला।’

कति जिल्लामा फेरियो भन्नेबारे कार्यालयमा कुनै औपचारिक तथ्यांक नराखिएको उनले बताए। ‘यो उत्सवका रूपमा पनि गरिएको होइन,’ रिजालले भने।

रिजालका अनुसार धेरैजसो जिल्लामा एमालेको आफ्नै भवनमा कार्यालय थिए।

सर्वोच्चको फैसलाअनुसार तत्कालीन एमाले र माओवादी केन्द्र अब २०७३ जेठ २ गते एकीकृत भई नेकपा बन्नुअघिकै अवस्थामा फर्किएका हुन्।

जुन फैसलालाई प्रचण्ड–नेपाल पक्षले अनपेक्षित भनेको छ भने प्रधानमन्त्री ओली पक्षले भने खुसी हुँदै एमाले स्थापना अभियान सुरु गरिसकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad