संघीय संसदको भोलि आइतबारबाट सुरु हुने अधिवेशनका लागि संसद सचिवालयले केहि संभावित कार्यक्रम तय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए।
त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेपछि त्यसमाथि सुनुवाइ गर्दै अदालतले फागुन ११ गते संसद विघटन गर्ने निर्णयलाई बदर गरेकाे थियाे।
अदालतकाे आदेशअनुसार सरकारकाे सिफारिशमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएकाे हाे।
साेहिअनुसार भाेलि आइतबार अपरान्ह ४ बजेदेखि संसद अधिवेशन सुरु हुन लागेको छ।
यस अधिवेशनमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव आउने र नयाँ प्रधानमन्त्री चयन हुने संभावना रहेका कारण आइतबारदेखि सुरु हुने संसदीय बैठक तथा साेसम्बन्धी गतिबिधिहरुलाई उत्सुकतापूर्वक हेरिएको छ।
त्यसैगरी प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेकपा राजनीतिक तथा सांगठनिकरुपमा विभाजित भएको छ तर सो पार्टी कानूनीरुपमा भने एउटै छ जसका कारण सरकारबाट बाहिरिएको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा कसरी सिट व्यवस्थापन गरिन्छ र अन्य परामर्श प्रक्रियाहरु कसरी गरिन्छ भन्ने पनि उत्तिकै चासोपूर्वक हेरिएको छ।
यसैबीच संसद सचिवालयले शनिबार भोलिको बैठकका केहि संभावित कार्यसूचि तय गरेको छ।
त्यसअनुसार बैठक बस्नासाथ सबैभन्दा पहिले सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन्।
त्यसैगरी राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।
त्यसैगरी प्रतिनिधि सभा बैठकमा सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरिनेछ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले बिभिन्न अध्यादेश पेस गर्नेछन्।
त्यसैगरी, यसबीचमा भएको बहालवाला तथा पूर्व सांसदहरुको निधनप्रति शोक प्रस्ताव पेस गरिनेछ।
भोलि बैठक हुनुअघिसम्म यो सम्भावित कार्यक्रममा थपघट हुनसक्नेछ।
संसद सचिवालयद्वारा आइतबारको प्रतिनिधि सभा बैठकका लागि शनिबार तयार पारेको संभावित कार्यक्रमसम्बन्धी सूचना:

Shares

प्रतिक्रिया