राजनीति


कर्णाली प्रदेशका सचिवद्वारा मानवअधिकार आयोगको टोलीमाथि दुर्व्यवहार

कर्णाली प्रदेशका सचिवद्वारा मानवअधिकार आयोगको टोलीमाथि दुर्व्यवहार

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १३:४३,

कर्णाली प्रदेशका मुख्यसचिव तथा सचिवले राष्ट्रिय मानवअधिकार आयोगको टोलीमाथि दुर्व्यवहार गरेका छन्।

नेपालगञ्जस्थित आयोगको कार्यालयबाट अनुगमनमा खटिएको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालबाट दुर्व्यवहार भएको आयोगले जनाएको छ।

आवास, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत माग राखी बादी समुदायद्वारा गरिएको धर्नाको अनुगमन गर्न आयोगको नेपालगञ्ज कार्यालयबाट खटिएको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव पौड्यालबाट दुर्व्यवहार भएको हो।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बादी समुदायको मागका विषयमा अनुगमन गर्न खटिएको टोलीमाथि दुव्यवहार भएको सम्बन्धमा यथार्थ विवरण उपलब्ध गराउन आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पत्राचार गरेको उल्लेख छ।

बादी समुदायका माग एवं सो सम्बन्धमा प्रदेश सरकारबाट गरिएको पहलबारे छलफल तथा जानकारी लिन प्रमुख सचिवको कार्यालयमा गएको अनुगमन टोलीलाई ‘तपाईंहरुले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाईंहरु आयुक्त हो र?’ भनी आयोगको टोलीमाथि दुर्व्यवहार गरेको र प्रहरी सहायक निरीक्षक नरेन्द्र विसीलाई आदेश दिई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास गरेको भनी आयोगमा प्रतिवेदन प्राप्त आयोगले जनाएको छ।

नेपालको संंविधान र प्रचलित कानूनले निर्दिष्ट गरेको दायित्व एवम् अधिकार अनुरुप अनुगमन गर्न आयोगको नेतृत्वमा खटिएको मानव अधिकारकर्मीको टोलीमाथि भएको दुर्व्यवहार सम्बन्धमा यथार्थ विवरण तीन दिनभित्र उपलब्ध गराउन नेपालको संविधान र राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ बमोजिम माग गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad