कारोबार


कर्जा प्रवाहकै बाटोमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर, कति बढ्ला?

कर्जा प्रवाहकै बाटोमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर, कति बढ्ला?

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १३:२९,

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट हुने कर्जा प्रवाह बढेसँगै ब्याजदर पनि बढ्ने देखिएको छ।

ऋण लिनेहरु बढेसँगै बैंकहरुको तरलतामा पनि कमी आउनथालेकोले अब ब्याजदर बढ्ने देखिएको हो।

विशेषगरी व्यवसायीहरुमा ब्याजदर बढ्ने डर देखिएको छ। 

चालू आर्थिक वर्षमा कर्जाकाे  ब्याजदर घटेको छ। अर्धवार्षिक समीक्षासम्म अर्थात् साउनदेखि पुससम्म चालू आवमा बैंकबाट ऋण लिनेले ९.९ प्रतिशतसम्म ब्याज तिरेका छन्।

यद्यपि अहिले नै ब्याजदर बढिसकेको अवस्था भने होइन। तर पनि कर्जाको माग धेरै हुँदा ब्याजदर बढ्ने र कम हुँदा घट्ने अर्थतन्त्रको नियम नै हो। सोही कारण अब ब्याजदर बढ्ने आकलन गरिएको हो।

वाणिज्य बैंकहरुले यही फाुगन ७ गतेदेखि १४ गतेसम्ममै २७ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्।

नेपाल बैंकर्स संघको तथ्याङ्कअनुसार फागुन ७ गतेदेखि १४ गतेसम्ममा २७ वाणिज्य बैंकले २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन्।

यस अवधिमा कर्जा लगानीभन्दा निक्षेप संकलनको वृद्धिदर कम देखिएको छ। गत एक सातामा बैंकिङ्ग प्रणलीमा ११ अर्ब रुपैयाँ मात्र निक्षेप थपिएको छ।

फागुन १४ गतेसम्ममा बैंकहरुले ३८ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

यो तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान हुँदै गएको र कर्जा प्रवाह बढिरहेको देखाउँछ। त्यसकारण अब ब्याजदर बढ्नसक्ने डर व्यवसायीहरुमा पैदा भएको छ।

तर यसरी कर्जा प्रवाह बढे पनि अधिक मात्रामा ब्याजदर भने नबढ्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन्।

उनले नेपालखबरसँग भने, ‘हामीसँग पहिला २ सय अर्ब रुपैयाँ सरप्लस (चाहिएभन्दा बढी) थियो, अब १ सय अर्ब रुपैयाँमा घटिसकेको छ। त्यसकारण केही ब्याजदर बढ्न सक्छ। तर त्यस्तो सबै आत्तिहाल्ने गरी बढ्नेछैन।’

चालू आर्थिक वर्षको ७ महिनामा ४ सय अर्बले कर्जा प्रवाह बढेको छ। यो भनेको गत एक वर्षभन्दा पनि बढी रहेको बैंकर्स संघको भनाइ छ।

यो पनि –
बैंकको ब्याजदर घट्दा दोब्बरले बढ्यो घरजग्गा कारोबार

संघका अनुसार यसो हुनुको पछाडिको कारण हो– कोरोनापछि अहिले एक्कासि आर्थिक चहलपहल बढ्नु।

पछिल्लो समय बढ्नथालेको आयातको आकारले पनि यही बताउँछ। सोही कारण पनि कर्जा प्रवाह बढेको हो।

अध्यक्ष दाहालले भने, ‘यो भनेको अर्थतन्त्र करेक्सन (सुधार)को बाटोमा हिँडेको हो।’

त्यस्तै, उद्योगी व्यवसायी पनि सही बाटोमा हिँडेको उनको भनाइ छ। त्यसकारण यसलाई सकारात्मक रुपमा लिनुपर्ने दाहाल बताउँछन्।

तर अहिलेको यो कर्जा प्रवाहले पछि गएर खराव कर्जामा गणना पनि हुनसक्ने भन्ने विश्वव्यापी चर्चा भइरहँदा धेरै बैंक तथा वित्तीय संस्थाहरु कर्जाको लागि आउनेहरुलाई कतिसम्म दिने वा दिने नदिने समेत दोधारमा रहेका थिए।

नेपालमा भने ऐतिहासिक रुपमा कर्जा प्रवाह गरिएको दाहाल बताउँछन्।

उनले भने, ‘केही बैंकको हकमा भने हतारमा कर्जा प्रवाह नकारात्मक बन्न पनि सक्छ तर पनि अहिलेको लागि अर्थतन्त्रको ग्रोथको लागि अधिक प्रवाह हुनु आफैँमा राम्रो कुरा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad