ad ad

राजनीति


निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल पक्ष

निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल पक्ष

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ७:३५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु आज (बिहीबार) निर्वाचन आयोग जाने भएका छन्।

निर्वाचन आयोगले नेकपा विवादमा निर्णय दिन ढिलाइ गरेको भनी असन्तुष्टि व्यक्त गर्दै आएको प्रचण्ड–नेपाल पक्षका नेताहरु आज आयोग पुग्न लागेका हुन्।

हिजो बुधबार बसेको स्थायी तथा केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुबारे जानकारी गराउन आयोग जान लागिएको सो पार्टीका केन्द्रीय सदस्य गणेश पहाडीले बताए।

‘हिजोका बैठकले गरेका निर्णय जानकारी तथा अद्यावधिक गराउन आयोग जान लागिएको हो,’ पहाडीले नेपालखबरसँग भने।

उनका अनुसार पार्टी निर्वाचनसम्बन्धी विभाग हेर्ने नेताहरु नै आयोग जानेछन्।

बुधबारको स्थायी समिति तथा केन्द्रीय समितिले बिभिन्न नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो।

बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

सो बैठकले निर्वाचन आयोगले सो पार्टीको आधिकारिकता र निर्वाचन चिन्हबारे छिटो निर्णय दिन आग्रह गर्ने निर्णय पनि गरेको थियो।

बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गरेको थियो। बैठकले उनलाई तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन पनि दिएको थियो।

केन्द्रीय सदस्य विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने र सांसदको जिम्मामा रहन सचेत गराउने निर्णय गरेको छ।

विभाजित नेकपाको ओली पक्षले केहि दिनपहिले संसदीय दलको प्रमुख सचेतक रहेका देव गुरुङलाई हटाई भट्टराईलाई सो पदमा चयन गरेको थियो।

महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा, कर्णबहादुर थापालाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ।

प्रचण्ड नेपाल समूहले गत २० माघमा आफूहरु वैधानिक भएको दावी गर्दै निर्वाचन आगोगको दलसम्बन्धी ऐनको दफा ४४ अनुसार बहमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित दाबीपत्र बुझाएको थियो। तर आयोगले सो विषयमा अहिलेसम्म कुनै निर्णय नगरेपछि उक्त समूह पुनः सनर्वाचन आयोगप्रति असन्तुष्टि जनाउँदै आएको छ।

बुधबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर नेकपा विवादमा आयोगलाई अनिर्णयको बन्दी नबन्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .