ad ad

राजनीति


नभाल्नीको निहुँमा अमेरिकाले लगायो रुसलाई प्रतिबन्ध

नभाल्नीको निहुँमा अमेरिकाले लगायो रुसलाई प्रतिबन्ध

नेपालखबर
फागुन १९, २०७७ बुधबार ०:३५,

विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाएर मार्न खोजेको तथा जेलमा हालिएको विरोधमा अमेरिकाले रुसका अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध घोषणा गरेको छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनका वरिष्ठ अधिकारीले प्रतिबन्ध लगाइएका रुसका अधिकारीको सूची भने सार्वजनिक गरिसकेका छैनन्।

यस्तै बाइडेन प्रशासनले अमेरिकी रसायन एवं जैविक शस्त्र नियन्त्रण तथा युद्ध उन्मूलन अधिनियमबमोजिम रुसलाई १५ किसिमका व्यापार तथा उद्यममा पनि प्रतिबन्ध घोषणा गरेको छ। यिनमा धेरैजसो जैविक विष बनाउने रसायन पर्छन्।

बाइडेन प्रशासनका वरिष्ठ अधिकारीका अनुसार अमेरिकी गुप्तचर समुदायको निष्कर्ष छ– रुसको संघीय सुरक्षा सेवाले गत वर्ष अगस्टमा आफ्ना विरोधीलाई रुसी नर्भ एजेन्ट (एक किसिमको विष) ‘नोभिचोक’ प्रयोग गरेको छ।

बाइडेन प्रशासनले पहिलोपटक रुसविरुद्ध प्रतिबन्ध लगाएको हो। बाइडेन प्रशासनले विपक्षी नेताविरुद्ध आक्रमण तथा अमेरिकी एजेन्सी र कारोबारमा ह्याक गरिएको भन्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग संघर्ष गर्ने संकल्प लिएको छ।

बाइडेन प्रशासनले रुसलाई प्रतिबन्ध लगाउन युरोपेली संघ (ईयू) सँग समन्वय गरेको छ। ईयूले नभाल्नी प्रकरणमा यसअघि नै रुसका केही अधिकारीलाई प्रतिबन्ध लगाइसकेको छ। मंगलबार मात्र उसले नयाँ प्रतिबन्ध घोषणा गरेको छ, जसमा नभाल्नीलाई जेल हाल्ने रुसका शीर्ष अधिकारीलाई निशाना बनाइएको छ।

रुसका राष्ट्रपति पुटिनका आलोचक विपक्षी नेता नभाल्नीलाई विष खुवाइएको थियो। जसका कारण उनी गम्भीर बिरामी परेका थिए। तर उपचारपछि बाँच्न सफल भए। जर्मनीमा उपचार गरेर गत जनवरीमा स्वदेश फर्किनासाथ उनलाई प्यारोल उल्लंघन गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको छ। एजेन्सी

याे पनि :  

रुसले विपक्षी नेता नभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने जर्मनी, अमेरिका र ईयूको माग

नभाल्नी विवादः रुसले जर्मनी, स्वीडेन र पोल्यान्डका राजदूतलाई देशनिकाला गर्‍यो 

एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .