ad ad

राजनीति


शिक्षा मन्त्री श्रेष्ठको प्रश्न : पञ्चायतकालीन ऐनमा उभिएर परिवर्तन पाइन्छ?

शिक्षा मन्त्री श्रेष्ठको प्रश्न : पञ्चायतकालीन ऐनमा उभिएर परिवर्तन पाइन्छ?

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:२४,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन्।

सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे। अहिले पनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो।

उनले भने, ‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन। शिक्षामा एउटा आमुल परिवर्तन अहिलेको आवश्यकता हो। नयाँ परिवर्तनमा जानुपर्छ। अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ शिक्षा मन्त्रालय। पञ्चायती कालको शिक्षाको ऐन अनुसार। अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुपर्‍यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ। के भन्या होला त्यो? पञ्चायत निरंकुश निर्दलिय तानाशाही राजतन्त्रको एकछत्र रजाइँ सहितको सिस्टम गईसक्यो। बहुदल भन्ने चिज आयो। बहुदल पनि गइसक्यो। लोकतन्त्र र गणतन्त्र पनि आयो। नियम चाहिँ त्यही छ। यसमा चेन्ज हुनुपर्छ। यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ? यो विज्ञानसम्मत पनि भएन। यसकारण यसमा चेन्जको आवश्यकता छ।’

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लागेको छ।’

मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरे। संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ। उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गरे।

उनले भने, ‘यहि सरकारले केही ठेगान छैन आगामी वैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जाँदैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस्। के भन्या होला भन्ठान्नु हुन्छ? पछि छलफल गरौँला।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे। सरकार हिजो भन्दा अहिले झनै शक्तिशाली भएको उनले दाबी गरे।

दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषयसँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो। दिक्षान्त समारोहमा एलबीइएफ ग्रुप अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालान, काठमान्डौं विश्व बिद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, एनबीसीसीआईका अध्यक्ष राजेन्द्र खेतानले समेत मन्तव्य राखेका थिए।

पीसीपीएसले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एड मिनिस्ट्रेसन बिषयहरुलमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ। यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनीसँंग साझेदारी गरि आर्टिफिसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .