राजनीति


प्रचण्ड–नेपालबाहेक अन्य दलको साथ लिन्छौँ, ओली सरकार ढल्दैन : मुख्यमन्त्री राई

प्रचण्ड–नेपालबाहेक अन्य दलको साथ लिन्छौँ, ओली सरकार ढल्दैन : मुख्यमन्त्री राई

नेपालखबर
फागुन १४, २०७७ शुक्रबार १२:५८,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्।

रुम्जाटारमा यातायात व्यवस्था कार्यालय शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरेका हुन्।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा समूहबाहेक अन्य दलको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारलाई निरन्तरता दिने बताए। उनले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसलाले सरकारविरोधी समूहलाई सहयोग पुगेको बताए।

बहुमतप्राप्त प्रधानमन्त्रीले अराजकतालाई परास्त गर्न संसद् विघटन गरेर चुनावमा जाने निर्णय गरे पनि अदालतले त्यो निर्णय उल्टाएर अराजकतालाई प्रश्रय दिएको उनको भनाइ थियो।

‘हामी अदालतको फैसला मान्छौँ तर यसले मुलुकलाई निकास दिँदैन। अझ अराजक तत्वलाई बल पुग्छ’, उनले भने, ‘मुलुुकलाई फेरि पनि ओलीले नै नेतृत्व गर्नुहुनेछ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा उहाँकै नेतृत्वमा हामी पूरा गर्ने अठोटका साथ अघि बढेका छौँ।’

मुख्यमन्त्री राईले नेपालमा संघीय सांसदको खरीद बिक्री शुरु भएको र त्यसको असर प्रदेशसभामा पनि परेको बताउँदै बहुमत प्राप्त दल नहुँदा सरकार गठन र सञ्चालनमा अनेकौँ झमेला हुने बताए। मुख्यमन्त्री राईले प्रदेश १ मा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाइने पनि बताए।

कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले संघीयताले नागरिकलाई घरदैलामा सेवाको पहुँच पु¥याइएको बताए। दुर्गम पहाडी जिल्लामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय स्थापना गरेर सबै जिल्लाका नागरिकलाई सहज सुविधाको व्यवस्था गरिएको उनको भनाइ थियो।

कार्यालय स्थापनासँगै सवारी लाइसेन्स, दर्ता, नवीकरणलगायत सबै काम ओखलढुङ्गाबाट हुनेछ। यसअघि यातायातसम्बन्धी सामान्य कामका लागि पनि प्रदेश २ को लहान, इटहरी वा राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .