सर्वाेच्च अदालतले संसद् पुर्स्थापना गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुनिश्चित भएको छ।
राप्रपाका एक अध्यक्ष कमल थापाले भनेका छन्, ‘प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ।’
अब पूर्वनिर्धारित कार्यक्रमअनुसारै राप्रपाको महाधिवेशन २०७८ वैशाख २५–२८ गते काठमाडौंमा हुने उनले बताएका छन्।
एकता महाधिवेशनका निम्ति युद्धस्तरमा तयारी गर्न पार्टीका सबै तहका निकाय र नेता/कार्यकर्तालाई अध्यक्ष थापाले आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।
तर विघटन संविधानविपरीत भएको भन्दै परेको मुद्दामा अदालतले गत मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिएको फैसला सुनाएको हो। योसँगै वैशाखमा हुने भनिएको चुनाव नहुने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एक वर्षअघि फागुनमै एकता भएको हो। पटकपटक एक हुँदै फुट्दै गरेका कमल थापा, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनीबीच एकता भएको हो।
पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाँड सहमतिमा तथा बैठकको अध्यक्षता पनि पालैपालो गर्ने गरी अहिले एकीकृत राप्रपामा तीनै जना अध्यक्ष बनेका छन्। यसैको एकता महाधिवेशन वैशाखमा गरिने भएको हो।
प्रतिक्रिया